१९ श्रावण २०८३, मंगलबार

राज्य र निजी क्षेत्रबीच बढ्दै छ अविश्वासको दूरी, विनाप्रमाणको खानतलासीले उद्यमीमा त्रास



लगानीको सुरक्षामाथि प्रश्न उठेपछि व्यवसायी भन्छन्- ‘विश्वासको वातावरण कसरी बनाउने ?’

काठमाडौँ । मुलुकको आर्थिक समृद्धिमार्फत रोजगारीका अवसर सिर्जना गर्न सरकार र निजी क्षेत्रबीच सहकार्यको बहस चलिरहेका बेला एउटा फरक र अप्रत्याशित घटनाक्रम बाहिर आएको छ।

एकातिर राजधानीमा सरकारका उच्च तहका नेतृत्वकर्ताहरूले उद्योगी तथा लगानीकर्ताहरूलाई ढुक्क भएर व्यवसाय विस्तार गर्न आग्रह गरिरहँदा, अर्कोतिर पूर्वी नेपालको एक प्रतिष्ठित व्यावसायिक घरानाको निवासमा भएको सुरक्षा बलको परिचालनले गम्भीर प्रश्न उब्जाएको छ। ठोस प्रमाणविना चालिएको यो कदमले व्यावसायिक समुदायभित्र गहिरो त्रास र आशंका जन्माएको छ।

गत सोमबार बिहानैदेखि विराटनगरको गोश्वारा रोड क्षेत्रमा देखिएको दृश्य सामान्य थिएन। स्थानीय व्यापारिक घराना देवेनरा समूहअन्तर्गतका वेणीगोपाल मुन्दडा र प्रकाश मुन्दडाको घर तथा कार्यालय वरपर सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखियो। बिहानको झिसमिसेमै पुगेको प्रहरी टोलीले सडक आवागमन समेत बन्द गरेर करिब पाँच घण्टासम्म खानतलासी अभियान चलायो।

कुनै ठूलो सुरक्षा खतरा वा आपत्कालीन अवस्था उत्पन्न भएजस्तै गरी ड्रोनको प्रयोग र कमाण्डो शैली अपनाइएपछि स्थानीय बासिन्दा र व्यावसायिक वृत्तमा अन्योल फैलिन पुग्यो।

तर, लामो समयको खानतलासीपछि सुरक्षा निकायले कुनै पनि शंकास्पद वा गैरकानुनी वस्तु फेला नपरेको स्पष्ट पारेको छ। पूर्वसूचनाका आधारमा गरिएको भनिएको उक्त खोजी कार्य रित्तो हात टुङ्गिएपछि यसले उल्टै राज्यको कार्यशैलीमाथि प्रश्नचिह्न खडा गरेको छ।

दशकौँदेखि औद्योगिक तथा व्यावसायिक गतिविधिमा सक्रिय प्रतिष्ठित परिवारमाथि कुनै ठोस आधारबिना यस्तो व्यवहार गर्नु न्यायसङ्गत नभएको स्थानीय उद्यमीहरूको गुनासो छ। यस घटनाले सरकार र निजी क्षेत्रबीचको विश्वासको खाडललाई थप फराकिलो बनाइदिएको छ।

एकातिर सरकार लगानीमैत्री वातावरण निर्माणको दाबी गरिरहेको छ भने अर्कोतिर सामान्य शंकाकै भरमा यसरी सुरक्षा बल परिचालन हुनुले लगानीकर्ताको मनोबल गिराउने काम गरेको छ।

व्यावसायिक क्षेत्रमा प्रतिष्ठा नै सबैभन्दा ठूलो पूँजी मानिने भएकाले विनाअनुसन्धान र विनाप्रमाण सार्वजनिकरूपमा गरिएको यस्तो हस्तक्षेपले उनीहरूको सामाजिक मर्यादामा आघात पुगेको छ। यसप्रकारका घटनाले स्वदेशी मात्र नभई सम्भावित वैदेशिक लगानी भित्र्याउने प्रक्रियामा समेत नकारात्मक सन्देश जाने भन्दै उद्योगीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।