२१ श्रावण २०८३, बिहिबार

लुम्बिनी विकास बैंकको नाफामा २५३ प्रतिशतको चमत्कारिक उछाल, प्रतिशेयर आम्दानी कति ?



काठमाडौँ। राष्ट्रिय स्तरको लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास (असार मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफामा उल्लेखनीय वृद्धि दर्ता गरेको छ।

असार मसान्तसम्म आइपुग्दा बैंकले ८५ करोड १० लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकले २४ करोड ११ लाख ६ हजार रुपैयाँ मात्र खुद नाफा कमाएकोमा समीक्षा अवधिमा नाफा २५२.९६ प्रतिशतको फराकिलो अन्तरले बढेको हो।

खुद नाफामा आएको यो उछालसँगै बैंकको सञ्चालन मुनाफा पनि १०८.५२ प्रतिशतले बढेर १ अर्ब २१ करोड ७८ लाख १२ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ५८ करोड ४० लाख ७७ हजार रुपैयाँमा सीमित थियो।

बैंकको इम्पेयरमेन्ट चार्ज ७७ करोड ८७ लाख ६२ हजार रुपैयाँबाट उल्लेख्य घटेर १३ करोड ६० लाख ३६ हजार रुपैयाँमा झरेकाले सञ्चालन मुनाफा र खुद नाफा बढाउन मुख्य सहयोग पुगेको छ।

बैंकको मुख्य व्यवसायको आधार मानिने खुद ब्याज आम्दानी पनि अघिल्लो वर्षको १ अर्ब ८५ करोड ७३ लाख १ हजार रुपैयाँको तुलनामा ७.५३ प्रतिशतले बढेर १ अर्ब ९९ करोड ७२ लाख २१ हजार रुपैयाँ पुगेको छ। यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ५.६२ प्रतिशतले बढेर २ अर्ब २८ करोड १४ लाख ६५ हजार रुपैयाँ पुगेको छ।

नाफामा आएको उच्च वृद्धिका कारण बैंकको लाभांश क्षमतामा राम्रो सुधार आएको छ। नियामक निकायका विभिन्न कोष तथा प्राविधिक समायोजनपश्चात् समीक्षा अवधिमा बैंकको कुल वितरणयोग्य मुनाफा ६१ करोड ५५ लाख ८० हजार रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्ष १८ करोड ४३ लाख ६६ हजार रुपैयाँ रहेको थियो। यस आधारमा बैंकको प्रतिशेयर वितरणयोग्य मुनाफा १६.९९ रुपैयाँ पुगेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि ठूलो सुधार देखिएको छ। अघिल्लो वर्ष ६.५६ रुपैयाँ रहेको ईपीएस बढेर २३.४० रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ २१३.७३ रुपैयाँ कायम भएको छ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा ४.७१ प्रतिशतबाट केही बढेर ६.३४ प्रतिशत पुगेको छ। बैंकको आधार दर (बेस रेट) ५.४८ प्रतिशत, स्प्रेड रेट ३.७६ प्रतिशत र पुँजी कोष अनुपात १४.९६ प्रतिशत रहेको छ।

व्यवसाय विस्तारतर्फ ३ अर्ब ६२ करोड ३६ लाख ७८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले असार २०८३ सम्ममा सर्वसाधारण तथा विभिन्न संस्थाबाट ५७ अर्ब ४४ करोड ३३ लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ५ करोड ६२ लाख ३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।