चालु आवदेखि लागु हुने तलबमान सार्वजनिक, कुन तहका कर्मचारीको तलब कति ?
काठमाडौं। अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ का लागि लागू हुने संशोधित तलबमान, ग्रेड तथा प्रोत्साहन भत्तासम्बन्धी विवरण सार्वजनिक गरेको छ। यही साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्ता सम्बन्धि निर्णय गरेको थियो ।
सरकारले जेठ १५ गते प्रस्तुत गरेको बजेटमार्फत सरकारी कर्मचारीको आधारभूत तलबमा १० प्रतिशत वृद्धि गर्ने तथा कार्यसम्पादनमा आधारित १० प्रतिशत मासिक प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गरेको थियो।
सोही घोषणाअनुसार अर्थ मन्त्रालयले बुधबार सम्बन्धित सरकारी निकायलाई नयाँ तलबमान कार्यान्वयनसम्बन्धी परिपत्र पठाइ जानकारी गराएको हो ।
मन्त्रालयका अनुसार निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संघीय संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीले नयाँ तलबमानअनुसार पारिश्रमिक प्राप्त गर्नेछन्।
साथै, निवृत्तिभरण प्रयोजनका लागि लागू हुने ग्रेड तथा एक दिन बराबरको ग्रेड रकमसमेत नयाँ व्यवस्थाअनुसार समायोजन गरिएको छ। बढेको तलबमानको आधारमा १० प्रतिशत मासिक प्रोत्साहन भत्ता पनि उपलब्ध गराइनेछ।
नयाँ तलब संरचनाअनुसार मुख्य सचिवको प्रारम्भिक मासिक तलब ८४ हजार ९३२ रुपैयाँ निर्धारण गरिएको छ। त्यसैगरी, राजपत्राङ्कित विशिष्ट श्रेणीको तलब ७९ हजार २९० रुपैयाँ, अतिरिक्त सचिव (पेन्सन प्रयोजन)को ६६ हजार ५३९ रुपैयाँ तथा राजपत्राङ्कित प्रथम श्रेणीको ६२ हजार ४६६ रुपैयाँ कायम गरिएको छ।
यस्तै, राजपत्राङ्कित द्वितीय श्रेणीको तलब ५३ हजार ६११ रुपैयाँ र राजपत्राङ्कित तृतीय श्रेणीको ४८ हजार ५८ रुपैयाँ तोकिएको छ।
राजपत्रअनङ्कित कर्मचारीतर्फ प्रथम अतिरिक्त मान (पेन्सन प्रयोजन) को तलब ४१ हजार ५१७ रुपैयाँ, राजपत्रअनङ्कित प्रथमको ३८ हजार २०३ रुपैयाँ, राजपत्रअनङ्कित द्वितीय अतिरिक्त मान (पेन्सन प्रयोजन) को ३७ हजार ४०७ रुपैयाँ, राजपत्रअनङ्कित द्वितीयको ३६ हजार १९२ रुपैयाँ, राजपत्रअनङ्कित तृतीयको ३० हजार ३७३ रुपैयाँ तथा राजपत्रअनङ्कित चतुर्थको २८ हजार ६९० रुपैयाँ कायम गरिएको मन्त्रालयले जनाएको छ।













