नागरिक लगानी कोषको नेतृत्व दौड: कार्यकारी निर्देशक पदका लागि ५ जनाकाे नाम सर्टलिस्ट
काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि पाँच जना उम्मेदवार सर्टलिस्टमा परेका छन्। अर्थ मन्त्रालयले कोषको रिक्त कार्यकारी निर्देशक पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन दिएका उम्मेदवारमध्ये पाँच जनालाई प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनोट गरेको हो।
अर्थ मन्त्रालयअन्तर्गत गठित कार्यकारी निर्देशक छनोट तथा सिफारिस समिति ले २०८३ साउन २९ गते बसेको बैठकको निर्णयअनुसार शैक्षिक योग्यता, कार्यानुभव तथा व्यावसायिक एवं वित्तीय कार्ययोजनाको मूल्याङ्कनका आधारमा अन्तिम चरणका लागि पाँच जनाको नाम सार्वजनिक गरेको जनाएको छ।
सर्टलिस्टमा अर्जुनकुमार गौतम, गोपाल गिरी, पर्वतकुमार कर्बी, रघु प्रकाश न्यौपाने र समता पन्त भट्ट परेका छन्। उनीहरूलाई आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्तामा सहभागी हुन समितिले आग्रह गरेको छ।
समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार अर्जुनकुमार गौतम र गोपाल गिरीको अन्तर्वार्ता भदौ २५ गते क्रमशः बिहान ७ र ८ बजे हुनेछ। त्यही दिन पर्वतकुमार कर्बी र रघु प्रकाश न्यौपानेको अन्तर्वार्ता क्रमशः साँझ ५ र ६ बजे हुनेछ। समता पन्त भट्टको अन्तर्वार्ता भने भदौ २६ गते बिहान ८ बजे तय गरिएको छ।
अन्तिम चरणको मूल्याङ्कनपछि समितिले उपयुक्त उम्मेदवारको नाम सरकारसमक्ष सिफारिस गर्नेछ।













