बीमा कम्पनीहरुद्धारा एक वर्षमा १ खर्ब ३६ करोड दाबी भुक्तानी
काठमाडौं। गत आर्थिक वर्ष २०८२/८३ मा नेपालका जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले बीमितलाई एक खर्ब रुपैयाँभन्दा बढी दाबी रकम भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ‘बीमा प्रतिविम्ब’ प्रतिवेदनअनुसार उक्त अवधिमा बीमा कम्पनीहरूले कुल १ खर्ब १ अर्ब ३६ करोड १३ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन्।
यो रकम आर्थिक वर्ष २०८१/८२ को तुलनामा ११.३० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षमा बीमा कम्पनीहरूले ९१ अर्ब ६ करोड ८५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका थिए।
प्रतिवेदनअनुसार समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले ४ लाख १९ हजार १३६ वटा दाबी बापत ६९ अर्ब ६४ करोड २३ लाख रुपैयाँ भुक्तानी गरेका छन्। अघिल्लो आर्थिक वर्षमा भने ३ लाख ९१ हजार १३५ वटा दाबी का लागि ६५ अर्ब ८० करोड ८९ लाख रुपैयाँ वितरण गरिएको थियो। यस आधारमा जीवन बीमातर्फ दाबी संख्या ७.१६ प्रतिशत र भुक्तानी रकम ५.८३ प्रतिशतले वृद्धि भएको देखिएको छ।
यस्तै, निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षमा १ लाख ६४ हजार १०१ वटा दाबी बापत ३१ अर्ब ७१ करोड ९० लाख रुपैयाँ भुक्तानी गरेका छन्। अघिल्लो वर्ष १ लाख ५० हजार ६३९ वटा दाबीका लागि २५ अर्ब २५ करोड ९६ लाख रुपैयाँ भुक्तानी गरिएको थियो। यसले निर्जीवन बीमातर्फ दाबी संख्या ८.९४ प्रतिशत तथा दाबी भुक्तानी रकम २५.५७ प्रतिशतले बढेको छ।
५२ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी हुन बाँकी
बीमा प्राधिकरणका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म जीवन र निर्जीवन बीमा कम्पनीहरूबाट ५२ अर्ब ८ करोड १ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी हुन अझै बाँकी छ।
यसअन्तर्गत जीवन बीमा कम्पनीहरूमा १ लाख ४४ हजार १४४ वटा दाबीका लागि ११ अर्ब ४ करोड ७५ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ।
त्यसैगरी, निर्जीवन बीमा कम्पनीतर्फ १ लाख ६ हजार २३७ वटा दाबीका लागि ४१ अर्ब ३ करोड २५ लाख रुपैयाँ अझै भुक्तानी हुन बाँकी रहेको नेपाल बीमा प्राधिकरणले जनाएको छ।













