२२ श्रावण २०८३, शुक्रबार

प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत हुँदैछन् यी विधेयक, यस्तो छ कार्यसूची



काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा विभिन्न विधेयक तथा एक समितिको प्रतिवेदन पेस गर्ने तयारी छ।

बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ सदनमा प्रस्तुत गर्ने कार्यक्रम छ।

यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ पेस गर्नेछिन्।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

त्यसैगरी, महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ सदनमा पेस गर्नेछिन्।

परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यक्रमसमेत रहेको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन्।

तीन संसदीय समितिको बैठक पनि

आजै तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।  अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान १०ः३० बजे कार्यसूची छ। उक्त बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का विषयमा विषयविज्ञसँग छलफल गर्ने कार्यसूची छ।

कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १० बजे सुरु हुने कार्यसूची छ। बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा र कैदीबन्दीको मानवअधिकार अवस्थाबारे अध्ययन गर्न गठित उपसमितिको २०८३ को प्रतिवेदन पेस गरी त्यसमा छलफल गरिनेछ।

यस्तै, पूर्वाधार विकास समितिको बैठक पनि बिहान १० बजे बस्ने कार्यसूची छ। सडक निर्माणका क्रममा विद्युत् वितरण लाइन तथा पोल व्यवस्थापन हुन नसक्दा देखिएको ढिलाइका विषयमा समितिले छलफल गर्ने कार्यक्रम तय भएको छ।