नाडा अटो एक्स्पोमा डोङफेंगका बस सार्वजनिक हुने
काठमाडौं । हिमालयन अर्गनाइजेसनअन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित अटोमोबाइल कम्पनी डोङफेंगद्वारा उत्पादित बसहरू काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको नाडा अटो एक्स्पोमा सार्वजनिक गर्ने भएको छ।
आयाम इन्टरकन्टिनेन्टलका अनुसार आगामी भदौ २६ गतेदेखि सुरु हुने अटो एक्स्पोमा कम्पनीले डोङफेंगका दुईवटा बस मोडल सार्वजनिक गर्ने तयारी गरेको छ।
सन् १९६९ मा स्थापना भएको डोङफेंग चीनका ठूला अटोमोबाइल उत्पादकमध्ये एक हो। चीन सरकारको स्वामित्वमा रहेको यो कम्पनीले यात्रुवाहक तथा व्यावसायिक सवारीसाधन, बस, ट्रक, विद्युतीय सवारीसाधन, विशेष प्रयोजनका सवारीसाधन तथा अटोमोबाइलका विभिन्न पार्टपुर्जा उत्पादन गर्दै आएको छ।
पाँच दशकभन्दा लामो अनुभव रहेको डोङफेंगले गुणस्तर, विश्वसनीयता, सुरक्षा तथा नवीन प्रविधिका कारण अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान बनाएको कम्पनीको दाबी छ। कम्पनीका सवारीसाधन एसिया, युरोप, अफ्रिका, मध्यपूर्व तथा दक्षिण अमेरिकालगायत विश्वका विभिन्न देशमा सञ्चालनमा छन्। हाल डोङफेंगका उत्पादन १०० भन्दा बढी देशमा निर्यात हुँदै आएका छन्।
नेपालमा पनि डोङफेंग ब्रान्डका ट्रक, कार तथा माइक्रोबस बिक्री हुँदै आएका छन्।
हिमालयन अर्गनाइजेसनअन्तर्गतका कम्पनीहरूले यसअघि भारतको आईसीएमएल तथा चीनको सीएसी समूहअन्तर्गत रहेको एसएआईसी कम्पनीका सवारीसाधनको नेपालका लागि आधिकारिक विक्रेताका रूपमा काम गर्दै आएका थिए। नेपाल सरकारले ठूला विद्युतीय बसलाई प्राथमिकता दिने नीति अघि बढाइरहेको तथा नेपाली बजारमा पनि ठूला विद्युतीय बसको माग बढ्दै गएको अवस्थालाई ध्यानमा राखेर डोङफेंगका बस नेपाल ल्याइएको कम्पनीले जनाएको छ।
नाडा अटो एक्स्पोमा ७.२ मिटर लम्बाइका २६ देखि ३० सिट क्षमताका बस सार्वजनिक गरिने तयारी छ। निकट भविष्यमा यही कम्पनीका ३८ र ५२ सिट क्षमताका ९ तथा १२ मिटर लम्बाइका बससमेत नेपाल ल्याउने तयारी रहेको कम्पनीले जानकारी दिएको छ।
बसको मूल्य तथा अन्य प्राविधिक विवरण एक्स्पोमै सार्वजनिक गरिने बताइएको छ। कम्पनीका अनुसार सार्वजनिक हुन लागेका यी बसहरू नेपालमा हाल उपलब्ध अन्य ब्रान्डका बसको तुलनामा प्रतिस्पर्धी तथा तुलनात्मक रूपमा कम मूल्यमा उपलब्ध गराउने तयारी छ।
यसले एक्स्पोमा डोङफेंगका बसप्रति ग्राहकको चासो बढ्ने अपेक्षा गरिएको छ। एक्स्पोमा बुकिङ गर्ने ग्राहकका लागि विशेष छुटको योजना समेत ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ।
बस बिक्रीपछिको सेवा तथा स्पेयर पार्ट्सको उपलब्धताका लागि हिमालयन अर्गनाइजेसनअन्तर्गतका विभिन्न कम्पनीका देशभर रहेका शाखा तथा डिलरमार्फत सेवा प्रदान गरिने कम्पनीले जनाएको छ।













