२४ श्रावण २०८३, आइतबार

क्रेडिट रेटिङमा स्ट्यान्डर्ड चार्टर्ड अब्बल, कुन बैंकको रेटिङ कस्तो ?



काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले पछिल्ला पाँच आर्थिक वर्षमा वाणिज्य बैंकहरूलाई दिएको क्रेडिट रेटिङसम्बन्धी विवरण सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०७९ देखि २०८३ सम्मको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १३ वटा बैंकको इक्रा नेपालबाट अद्यावधिक रेटिङ कायम गरिएको हो।

इक्रा नेपालको सूचीमा नपरेका बाँकी बैंकहरूको रेटिङ अन्य क्रेडिट रेटिङ संस्थाबाट गरिएको वा हाल अद्यावधिक नगरिएको जनाइएको छ।

सार्वजनिक विवरण अनुसार पछिल्लो पाँच वर्षको रेटिङ इतिहास हेर्दा स्ट्यान्डर्ड चार्टर्ड बैंकले आफ्नो शीर्ष स्थानलाई निरन्तरता दिएको छ। बैंकले लगातार पाँच वर्षदेखि उच्चतम क्रेडिट रेटिङ प्राप्त गर्दै आएको छ। यसले बैंकको वित्तीय अवस्था मजबुत हुनुका साथै कर्जा जोखिम न्यून रहेको देखाउँछ।

यस्तै, नेपाल एसबीआई बैंकले पनि पछिल्ला तीन वर्षदेखि आफ्नो रेटिङमा स्थिरता कायम राखेको छ। नेपाल एसबीआई बैंक पाँच वर्षको अवधिमा दोस्रो उच्च क्रेडिट रेटिङ कायम गर्ने बैंकका रूपमा देखिएको छ।

इक्रा नेपालको विवरणअनुसार पछिल्ला वर्षहरूमा केही बैंकको रेटिङमा परिवर्तन भएको छ भने केही बैंकको रेटिङ फिर्ता समेत भएको छ । एभरेस्ट बैंकले र कृषि विकास बैंकले रेटिङ फिर्ता गराएको इक्रा नेपालले जनाएको छ।

हाल इक्रा नेपालको अद्यावधिक रेटिङ सूचीमा रहेका बैंकमध्ये नबिल बैंक र नेपाल बैंकले ए रेटिङ प्राप्त गरेका छन्। त्यस्तै, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको रेटिङ ए माइनस रहेको छ।

एनएमबी बैंकको रेटिङ पनि ए माइनस रहेको इक्रा नेपालले जनाएको छ। माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकले बीबीबी प्लस रेटिङ पाएका छन्।

यसैगरी, सिटिजन्स बैंक र लक्ष्मी सनराइज बैंकको रेटिङ बीबीबी रहेको छ। कुमारी बैंक र प्रभु बैंकको क्रेडिट रेटिङ भने बीबी प्लस रहेको इक्रा नेपालको विवरणमा उल्लेख छ।

समग्रमा हेर्दा, पछिल्लो पाँच वर्षको अवधिमा केही बैंकले उच्च क्रेडिट रेटिङलाई निरन्तरता दिएका छन् भने केही बैंकको मूल्याङ्कनमा परिवर्तन आएको छ। रेटिङले सम्बन्धित बैंकको वित्तीय क्षमता, कर्जा जोखिम तथा दायित्व पूरा गर्ने क्षमताबारे संकेत गर्ने भएकाले बैंकको वित्तीय सबलता मूल्याङ्कन गर्ने महत्वपूर्ण आधारका रूपमा यसलाई लिइन्छ।

यस्तो छ पछिल्लो ५ वर्षमा इक्रा नेपालले वाणिज्य बैंकहरूलाई दिएको क्रेडिट रेटिङ