२५ श्रावण २०८३, सोमबार

चीनमा ब्याट्री युध्दः बीवाईडीसँगै अब सीएटीएल पनि ‘सोलिड-स्टेट’काे रेसमा



विद्युतीय सवारीसाधनको क्षेत्रमा गेम चेन्जर मानिएको ‘सोलिड-स्टेट ब्याट्री’ उत्पादन गर्न चिनियाँ ब्याट्री निर्माता सीएटीएलले पनि बीवाईडीसँगै सन् २०२७ को लक्ष्य सार्वजनिक गरेको छ।

काठमाडाैँ । चिनियाँ बजारमा विद्युतीय सवारीसाधनका लागि अति महत्त्वपूर्ण मानिएको ‘सोलिड-स्टेट ब्याट्री’ निर्माणको प्रतिस्पर्धा अब थप रोचक बन्दै गएको छ।

प्रख्यात ब्याट्री निर्माता कम्पनी सीएटीएलले आफ्नो सोलिड-स्टेट ब्याट्री सेलहरूको सानो स्तरमा परीक्षण उत्पादन सन् २०२७ देखि सुरु गर्ने योजना सार्वजनिक गरेको छ। यो घोषणासँगै सोही अवधिमा ब्याट्री परीक्षण गर्ने बीवाईडीको योजनामा सीएटीएल पनि उभिन पुगेको छ।

सोलिड-स्टेट भनेकाे एक नयाँ प्रकारको ब्याट्री प्रविधि हो जसमा तरल पदार्थको साटो ठोस पदार्थ प्रयोग गरिन्छ। यसले हाल प्रचलनमा रहेका लथियम-आयन ब्याट्रीहरूको तुलनामा धेरै ऊर्जा सञ्चय गर्न, छिटो चार्ज हुन र सुरक्षित रूपमा काम गर्न मद्दत गर्छ।विद्युतीय गाडीको दुनियाँमा यस प्रविधिलाई ‘पवित्र ग्रेल’ अर्थात् अन्तिम र उत्कृष्ट विकासका रूपमा हेर्ने गरिन्छ।

ब्याट्रीको क्षमता बढाउने, वजन घटाउने तथा आगलागी र तातोपनबाट बच्ने समस्या समाधान गर्ने भएकाले अटोमोबाइल तथा ब्याट्री निर्माताहरूले यस प्रविधिमा ठूलो लगानी र स्रोत खन्याउँदै आएका छन्।

लगानीकर्ताहरूसँगको एउटा प्रश्नोत्तर सत्रमा सीएटीएलका प्रतिनिधिहरूले कम्पनी सोलिड-स्टेट ब्याट्रीको निरन्तर अनुसन्धानमा प्रतिबद्ध रहेको र यस क्षेत्रमा भएको प्रगति ‘उद्योगमै अग्रपंक्तिमा’ रहेको जानकारी दिएका छन्। उनीहरूले सन् २०२७ मा पाइलट लाइनमार्फत यसको सानो स्तरको उत्पादन सुरु गर्ने योजना स्पष्ट पारेका छन्।

बीवाईडी सँगको प्रतिस्पर्धा

यसअघि ‘कार न्युज चाइना’ ले बीवाईडीका छ वटा नयाँ सोलिड-स्टेट ब्याट्री पेटेन्टहरूको बारेमा जानकारी बाहिर ल्याएको थियो, जसमा सामग्रीको रसायनशास्त्र, निर्माण निर्देशिका र गुणस्तर नियन्त्रण समावेश छन्।

उक्त अटोमोबाइल कम्पनीले परम्परागत तरल इलेक्ट्रोलाइट्सको सट्टा ठोस ह्यालाइड र सल्फाइड कम्पोनेन्टहरू मिसाएर ड्युल-इलेक्ट्रोलाइट क्याथोड दृष्टिकोणमा ध्यान केन्द्रित गरिरहेको छ।

पेटेन्टहरूसँगै बीवाईडीले पनि सन् २०२७ मा सोलिड-स्टेट ब्याट्रीको परीक्षण उत्पादन गर्ने प्रतिबद्धता जनाएको छ। उपभोक्ताले सहजै चलाउन मिल्ने सोलिड-स्टेट ब्याट्रीयुक्त नयाँ ऊर्जाका सवारीसाधन बजारमा आउन अझै केही वर्ष लाग्ने देखिए पनि, सीएटीएल र बीवाईडी दुवैले यो प्रविधि प्रयोगशालाबाट निस्किएर आगामी वर्षसम्म एसेम्बली लाइनमा पुग्ने दाबी गरेका छन्।

रोचक कुरा के छ भने, सीएटीएलले गत जुलाई २९ मा लगानीकर्ताहरूको जिज्ञासाको जवाफ सार्वजनिक गरेको थियो भने बीवाईडीले जुलाई ३१ मा आफ्ना छ वटा नयाँ पेटेन्टहरू प्राप्त गरेको थियो। यी दुई ब्याट्री निर्माताहरूबीचको प्रतिस्पर्धा निकै कडा र बराबरीको देखिएको छ।

सीएटीएलको प्रगति

सीएटीएलका उच्च नेतृत्वले यसअघि सोलिड-स्टेट ब्याट्रीको छिटो व्यावसायिक विस्तारको सम्भावनाबारे बारम्बार शंका व्यक्त गर्दै आएका थिए। कम्पनीका अध्यक्ष डा. रोविन जेङले बजारमा यसको व्यापक प्रयोग हुन अझै ‘वर्षौं लाग्ने’ दाबी गरेका थिए।

जुनको अन्त्यतिर आयोजित एक उद्योग प्यानलमा बोल्दै उनले सीएटीएलको सोलिड-स्टेट ब्याट्री प्रविधि ‘टेक्नोलोजी रिडिनेस लेभल’ को नौ-बिन्दुको स्केलमा चौथो तहमा मात्र रहेको बताएका थिए। यसको अर्थ कम्पनीका सेलहरू हाल प्रयोगशालाको वातावरणमै परीक्षण र विकासको चरणमा छन्।

यद्यपि, कम्पनी सन् २०२७ को आफ्नो पाइलट लक्ष्यप्रति भने विश्वस्त देखिएको छ। सीएटीएलका मुख्य वैज्ञानिक वू काईका अनुसार, कम्पनीले सन् २०२७ सम्ममा आफ्नो सोलिड-स्टेट ब्याट्रीलाई टीआरएल ७ वा ८ मा पुर्‍याउने लक्ष्य राखेको छ, जसले पाइलट उत्पादन र वास्तविक संसारको परीक्षण सम्भव बनाउनेछ।

सीएटीएलले सोलिड-स्टेट ब्याट्रीको भविष्यको व्यावसायिक सुरुवातबारे बजार अनुसन्धान पनि प्रकाशित गरेको छ। ‘कार न्युज चाइना’ को रिपोर्ट अनुसार कम्पनीले ठूलो मात्रामा सोलिड-स्टेट ब्याट्री उत्पादनको सीमा १० लाख थान सवारीसाधन तोकेको छ। यो आँकडा सन् २०३० अगाडि हासिल गर्न असम्भव हुने अनुमान गरिएको छ।

अध्यक्ष जेङले सीएटीएलको सोलिड-स्टेट ब्याट्रीको बजार सम्भाव्यतामाथि पनि प्रकाश पारेका छन्। उनका अनुसार प्राविधिक सीमाहरूका कारण प्रारम्भिक व्यावसायिक ब्याट्रीहरू प्रिमियम श्रेणीका एनइभी प्लेटफर्महरूमा मात्र सीमित हुनेछन्। साथै, यो प्रविधि कम्तीमा २ लाख ५० हजार युआन (रु. ५६ लाख) वा सोभन्दा बढी मूल्यका गाडीहरूमा मात्र प्रयोग हुन सक्नेछ।

सीएटीएलबारे थप तथ्य

‘चाइना इभी डेटा ट्र्याकर’ का अनुसार, सन् २०२६ को जुन महिनासम्म ३२.५९ गिगावाट आवर जडान क्षमतासहित सीएटीएल चीनको सबैभन्दा ठूलो ब्याट्री निर्माता हो। घरेलु बजारमा यसको ४३.२ प्रतिशत हिस्सा रहेको छ।

यो विश्वकै सबैभन्दा ठूलो ब्याट्री निर्माता पनि हो, जसले चिनियाँ र अन्तर्राष्ट्रिय अटोमोबाइल कम्पनीहरू दुवैलाई ब्याट्री सेलहरू आपूर्ति गर्दै आएको छ।

सोलिड-स्टेट ब्याट्रीका लागि चलिरहेको यो दौड साना ब्याट्री उत्पादक र अटोमोबाइल कम्पनीहरूका लागि स्थापित ब्याट्री बजारको संरचना बदल्ने सुनाैलाे अवसर बनेको छ। डोङफेङ, चाङ्गन र प्युअर लिथियमजस्ता कम्पनीहरू यस दौडमा होमिएसँगै ‘पवित्र ग्रेल’ मानिएको यो प्रविधिमा अन्ततः कसले बाजी मार्छ, त्यो भने हेर्न बाँकी छ।