नाइमा मोबिलिटी एक्स्पोमा टोयोटाका दुई नयाँ मोडल भित्रिँदै, ग्राहकले पाउनेछन् विशेष अफर
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाले दुई नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ, जसमा २१ लाख रुपैयाँसम्मको छुट र कन्या कुमारीसम्मको ड्राइभ ट्रिप पाउन सकिने छ।
काठमाडाैँ । नेपाली अटोमोबाइल बजारमा सदावहार प्रभाव जमाउँदै आएको जापानी ब्रान्ड टोयोटाले यसपटकको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’मा केही विशेष र रोमाञ्चक तयारी गरेको छ।
आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले मंगलबार विशेष समारोहकाबीच आफ्ना दुई नयाँ मोडलहरू सार्वजनिक गर्ने भएको छ।
यसबारे कम्पनीकी प्रबन्ध निर्देशक ऋतु सिंह वैद्यले औपचारिक रूपमा धेरै कुरा खुलाउन नचाहे पनि एक्स्पोमा दुई नयाँ प्रोडक्ट भित्रिने पुष्टि गरेकी छिन्।
यद्यपि, बजारमा चलिरहेको चर्चा र आधिकारिक संकेतहरूलाई नियाल्दा ती मोडलहरू कुन हुन् भन्ने अनुमान गर्न गाह्रो छैन।
र्याभ-फोर
कम्पनीले ल्याउन लागेको पहिलो मोडल विश्वभर तहल्का मच्चाइरहेको र्याभ-फोर एसयूभीको नयाँ छैटौं जेनेरेशन हो भन्दा फरक पर्दैन।
सन् १९९४ मा पहिलो पटक अटो बजारमा प्रवेश गरेको यो कम्प्याक्ट एसयूभीले ३२ वर्षको लामो यात्रामा विश्वभर करिब १ करोड ५५ लाख युनिट बिक्री भइसकेको इतिहास रचेको छ। नेपाली सडकमा पनि यसले एक हजार युनिटभन्दा बढीको बिक्री माइलस्टोन पार गरिसकेको छ।
यसपटक सेल्फ चार्जिङ हाइब्रिड प्रविधिमा आउन लागेको नयाँ र्याभ-फोरमा २.५ लिटरको फोर सिलिण्डर इन्जिन र इलेक्ट्रीक मोटरको संयुक्त पावर २४० पीएस रहेको छ।
यो शक्ति अघिल्लो संस्करणको तुलनामा १८ पीएसले बढी हो भने यसमा १.५ किलोवाट आवरको ब्याट्री उपलब्ध गराइएको छ। यसको मूल्य र अन्य विशेषता कति हुन्छन् भन्ने जान्न भने मंगलबारसम्मको प्रतीक्षा गर्नुपर्ने हुन्छ।
नयाँ जेनेरेशनको हाइलक्स

टोयोटाले एक्स्पोमा सार्वजनिक गर्ने तयारी गरेको अर्को शक्तिशाली मोडल नवौं जेनेरेशनको हाइलक्स हुन सक्ने बलियो सम्भावना छ। नेपालमा पीकअप भन्नासाथ हाइलक्सको नाम अग्रपंतीमा आउने गर्छ। केही समयअघि मात्रै भारतमा लन्च भइसकेको यो नयाँ पिकअप बोल्ड डिजाइन र अपग्रेडेड इन्टेरियरसहित नेपाल भित्रिन लागेको हो।
ल्यान्ड क्रुजरको डिजाइनबाट प्रेरित भएर तयार पारिएको यो गाडी ‘टफ एण्ड अजाएल’ स्वरूपमा उपलब्ध छ।
यसमा २.८ लिटरको डिजेल इन्जिनसँगै ४८ भोल्टको हाइब्रिड भर्सन रहन सक्ने अनुमान गरिएको छ। नयाँ हाइलक्सले एक टनसम्मको भारी लोड बोक्न सक्ने र ३.५ टनसम्मको टोइङ क्षमता राख्ने दाबी गरिएको छ।
२१ लाखसम्मको छुट
नयाँ गाडी खरिद गर्न चाहने ग्राहकका लागि टोयोटाले यसपटक आर्थिक रूपमा पनि आकर्षक अफर ल्याएको छ। नाइमा मोबिलिटी एक्स्पोको अवसर पारेर कम्पनीले आफ्ना गाडीहरू बुकिङ गर्ने ग्राहकलाई न्यूनतम ३ लाखदेखि अधिकतम २१ लाख रुपैयाँसम्मको नगद छुट दिने घोषणा गरेको छ।
यद्यपि, कुन मोडलमा कति छुट लागू हुन्छ भन्ने विषयमा भने एक्स्पोमै जानकारी पाइनेछ।
छुट मात्र होइन, अटोप्रेमीहरूका लागि यसपटकको एक्स्पोमा थप रोमाञ्चक अनुभव पनि जोडिएको छ।
नाइमामा टोयोटाका गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले कम्युनिटी ड्राइभमा सहभागी हुने अवसर त पाउने नै छन्, साथै लक्की ड्रमार्फत एक भाग्यशाली विजेता जोडीले ‘इलाइट एक्स्प्लोर कन्या कुमारी ड्राइभ’मा नि:शुल्क सहभागी बन्ने स्वर्णिम अवसरसमेत प्राप्त गर्नेछन्।













