२५ श्रावण २०८३, सोमबार

सामाजिक सञ्जालबाट सामान किन्दा बैंक खाता नै रित्याइदिने ‘लक्ष्मी कलेक्सन’को ठगीधन्दा



काठमाडौँ। सामाजिक सञ्जालमा सामानको आकर्षक प्रचार गरेर ग्राहकलाई ह्वाट्सएपमार्फत कारोबार गर्न लगाउने र त्यसपछि बैंक खातासम्म पहुँच पुर्‍याएर रकम चोरी गर्ने जोखिम बढेको छ।

यस्तै प्रकृतिको ठगीमा परेको भन्दै केही उपभोक्ता प्रहरीसमक्ष पुगेका छन्। ‘लक्ष्मी कलेक्सन स्टोर’ नामको टिकटक अकाउन्टबाट सामान खरिद गर्न खोज्दा आफूहरू ठगीमा परेको उनीहरूको उजुरीमा उल्लेख छ।

उक्त अकाउन्टमा महिला तथा बालबालिकालाई लक्षित कपडा, जुत्तालगायतका सामग्रीका १७३ वटा भिडियो पोस्ट गरिएको पाइएको छ। ती भिडियोमा न आवाज सुनिन्छ, न भिडियोमा व्यक्तिको अनुहार देखिन्छ।

भिडियोको प्रस्तुति हेर्दा कतिपय सामग्री कृत्रिम बुद्धिमत्ता प्रविधिबाट तयार गरिएको हुनसक्ने देखिए पनि पोस्टमा ठूलो संख्यामा उपभोक्ताले सामानको मूल्य तथा खरिद प्रक्रियाबारे प्रश्न गरेका छन्।

उपभोक्ताले कमेन्टमार्फत जानकारी माग्दा अकाउन्टबाट प्राय: ह्वाट्सएप नम्बर उपलब्ध गराउने गरिएको पाइएको छ। त्यसपछि ह्वाट्सएपमा सम्पर्क गरी सामान खरिदका लागि रकम पठाउने गरेका ग्राहक ठगीमा परेको बताइएको छ।

नवलपरासी पूर्वको हुप्सेकोटकी नानुमाया विक पनि यही माध्यमबाट ठगीमा परेको उजुरीमा उल्लेख छ। उनले स्टोरले उपलब्ध गराएको माध्यम प्रयोग गरी सामान खरिदका लागि रकम पठाएकी थिइन्। तर, लामो समयसम्म सामान प्राप्त नभएपछि उनले स्टोरमा सम्पर्क गरेर गुनासो गरिन्।

स्टोरले रकम प्राप्त नभएको भन्दै बैंक स्टेटमेन्ट पठाउन भनेपछि उनले विश्वास गरेर आफ्नो बैंक स्टेटमेन्ट उपलब्ध गराइन्। त्यसपछि स्टेटमेन्टमा रहेको विवरणको दुरुपयोग गरी उनको बैंक खाताबाट रकम निकालिएको उजुरीमा उल्लेख छ।

त्यस्तै, काठमाडौंको बौद्ध निवासी छिरिङ लिम्जोम लामा पनि उक्त स्टोरसँग सम्पर्कमा पुगेपछि ठगीमा परेको प्रहरीले जनाएको छ। दुवैजनाले प्रहरीमा उजुरी दिएका छन्। उनीहरूले गुमाएको रकम फिर्ता हुने वा नहुने विषयमा भने अहिलेसम्म निश्चित भइसकेको छैन।

ज्ञापनका आधारमा मात्र अनलाइन खरिद गर्नुको सट्टा बिक्रेताको आधिकारिकता पुष्टि गर्ने, सुरक्षित भुक्तानी माध्यम प्रयोग गर्ने र खरिदपछि अनिवार्य रूपमा बिल लिने बानी अपनाउनु आवश्यक छ।