२६ श्रावण २०८३, मंगलबार

आजदेखि भृकुटीमण्डपमा ‘नाइमा मोबिलिटी एक्सपो’ सुरु हुँदै, गाडी पारखीका लागि के-के छन् मुख्य आकर्षण ?



काठमाडौँ। आज मङ्गलबारदेखि नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ सुरु हुँदैछ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा केही बेरमै एक्सपोको औपचारिक उद्घाटन हुने भएको छ।

आयोजकका अनुसार प्रदर्शनीका सम्पूर्ण तयारी पूरा भइसकेका छन्। साउन ३१ गतेसम्म कुल ६ दिन सञ्चालन हुने यस मेलालाई देशकै अहिलेसम्मकै ठूलो अटोमोबाइल तथा सवारी साधन प्रदर्शनीका रूपमा प्रस्तुत गरिएको छ।

यस बृहत् प्रदर्शनीमा कुल ५१ वटा स्टलमार्फत ५५ भन्दा बढी स्वदेशी तथा विदेशी ब्रान्डहरूको सहभागिता रहेको छ। एक्सपो अवधिभर ४० भन्दा बढी नयाँ सवारी साधन तथा प्रविधिहरू सार्वजनिक गरिनेछ।

मेलामा चारपाङ्ग्रे, दुईपाङ्ग्रे, व्यावसायिक सवारी साधन, विद्युतीय तथा हाइब्रिड प्रविधि, आधुनिक सवारी सेवा र सवारी सुरक्षासँग सम्बन्धित नवीन उत्पादनहरू एकै ठाउँमा समेटिएका छन्। साथै, अवलोकनकर्ताका लागि विभिन्न कम्पनीहरूले विशेष छुट, उपहार र आकर्षक बुकिङ योजनाहरू समेत सार्वजनिक गरेका छन्।

सवारी साधनको सहभागिताका हिसाबले चारपाङ्ग्रेतर्फ हुन्डाई, बीवाईडी, टाटा, टोयोटा, किया, निसान, एमजीसहित २६ वटा चर्चित ब्रान्ड र दुईपाङ्ग्रेतर्फ बजाज, होन्डा, टीभीएस, रोयल इन्फिल्ड, सुजुकी लगायतका १७ वटा ब्रान्डहरू प्रदर्शनीमा उत्रिएका छन्। यसबाहेक अन्य व्यावसायिक सवारी साधनका ब्रान्डहरूले पनि आफ्ना मजबुत मोडलहरू प्रदर्शनमा राखेका छन्। एक्सपोभरि नै चारपाङ्ग्रे र दुईपाङ्ग्रेका बहुप्रतिक्षित नयाँ मोडलहरू पालैपालो सार्वजनिक गरिनेछ।

प्रदर्शनी केवल गाडी बिक्री र अवलोकनमा मात्र सीमित नरही नवीनतम सवारी साधन, प्रविधि, नवप्रवर्तन र भविष्यको यातायात व्यवस्थापनका विषयमा ज्ञानमूलक छलफल तथा विचार-विमर्शका सत्रहरू समेत सञ्चालन हुने गरी आयोजना गरिएको छ। यसले नेपाली अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ प्रविधिबारे सर्वसाधारण र ईभी पारखीहरूलाई पूर्ण जानकारी दिने आयोजकको विश्वास छ।

कार्यक्रमलाई व्यवस्थित र सुविधासम्पन्न बनाउन विभिन्न प्रतिष्ठित संस्थाहरू सहकार्यमा जोडिएका छन्। जसअन्तर्गत एनएमबी बैंक र सिद्धार्थ बैंक वित्तीय साझेदार, सगरमाथा लुम्बिनी इन्स्योरेन्स बीमा साझेदार, बोस नेपाल प्रविधि साझेदार, पठाओ राइड साझेदार र ग्लोबल कलेज अफ म्यानेजमेन्ट शिक्षा साझेदारका रूपमा रहेका छन्।

त्यस्तै चार्जिङका लागि एजाइल इन्जिनियरिङ र अग्नि इनर्जी, शुद्ध खानेपानीका लागि एक्वा मिनरल्स, टिकट व्यवस्थापनमा आईएमई खल्ती, स्वास्थ्य सुरक्षामा नर्भिक अस्पताल, इन्टरनेटमा वर्ल्डलिंक र व्यवस्थापनमा मिडिया स्पेस सोलुसन्स लगायतका संघ-संस्थाहरू साझेदारका रूपमा आबद्ध छन्।