२६ श्रावण २०८३, मंगलबार

अटो क्षेत्रलाई राजस्वको स्रोतको रुपमा मात्र नहेर्न निजी क्षेत्रको आग्रह, स्थिर नीतिको माग



काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु भएसँगै नेपालको अटोमोबाइल क्षेत्रका प्रतिनिधिहरूले सरकारसँग स्थिर नीति, पूर्वाधार विकास र उद्योगमैत्री वातावरण बनाउन आग्रह गरेका छन्।

भृकुटीमण्डपमा सुरु भएको एक्स्पोको उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रलाई सरकारले राजस्व संकलनको माध्यमका रूपमा मात्र हेर्न नहुने बताए। उनले सवारीसाधनलाई विलासी वस्तुको रूपमा हेर्ने सरकारी दृष्टिकोण परिवर्तन गरी आवश्यक पूर्वाधार तथा आर्थिक गतिविधिसँग जोडेर हेर्नुपर्ने धारणा राखे।

श्रेष्ठले नेपालमा सवारीसाधन आयातमा तुलनात्मक रूपमा उच्च भन्सार दर रहेको उल्लेख गर्दै चालू आर्थिक वर्षको बजेटमा समेत भन्सार दर बढाइएको बताए। उनका अनुसार नेपालमै सवारीसाधन एसेम्ब्लिङ उद्योग विकास गर्न आयातित सवारी र स्वदेशी उत्पादनलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने भएकाले एसेम्ब्लिङ उद्योगका लागि दीर्घकालीन र स्पष्ट नीति आवश्यक छ।

उनले सडक सुरक्षालाई सवारीसाधन र चालकको जिम्मेवारीमा मात्र सीमित गर्न नहुने बताए। दुर्घटना न्यूनीकरणका लागि गुणस्तरीय सडक तथा यातायात पूर्वाधार विकासमा पनि सरकारले प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

सार्वजनिक यातायातका सवारीसाधनको दर्ता रोकिएको विषयमा समेत श्रेष्ठले सरकारको ध्यानाकर्षण गराउँदै सार्वजनिक यातायातलाई व्यवस्थित र आधुनिक बनाउन स्पष्ट नीतिको आवश्यकता औँल्याए। बन्द तथा समस्याग्रस्त उद्योग सञ्चालनका लागि सरकारले अघि सारेका प्रयास सकारात्मक भए पनि अझै थुप्रै उद्योग बन्द अवस्थामा रहेकाले तिनको पुनःसञ्चालनतर्फ पनि ध्यान दिनुपर्ने उनले बताए।

नीतिगत स्थिरताको माग

यसैबीच, नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष रितुसिंह वैद्यले अटोमोबाइल क्षेत्रमा भइरहेको लगानी र रोजगारीको सुरक्षाका लागि सरकारसँग स्थिर तथा पूर्वानुमानयोग्य नीतिको माग गरिन्।

उनले बारम्बार परिवर्तन हुने नीति र अस्पष्ट व्याख्याले व्यवसायमा अन्योल सिर्जना गर्ने भन्दै नयाँ नीति तथा नियम बनाउँदा सम्बन्धित क्षेत्रका सरोकारवालासँग पर्याप्त छलफल गर्नुपर्ने बताइन्।

वैद्यका अनुसार एक वर्षअघि २१ सदस्य कम्पनीबाट सुरु भएको नाइमामा अहिले ३६ कम्पनी आबद्ध भइसकेका छन्। अटोमोबाइल क्षेत्रलाई एउटै व्यावसायिक तथा जिम्मेवार प्लेटफर्ममा ल्याएर नेपालको मोबिलिटी क्षेत्रको विकासमा योगदान पुर्‍याउनु संस्थाको उद्देश्य रहेको उनले बताइन्।

स्वच्छ यातायात र दिगो विकासको लक्ष्यमा नाइमाको समर्थन

सरकारले अघि सारेको स्वच्छ यातायात र दिगो विकासको लक्ष्यलाई नाइमाले समर्थन गर्ने उल्लेख गर्दै वैद्यले विद्युतीय सवारी, हाइब्रिड तथा अन्य आधुनिक प्रविधिलाई प्रोत्साहन गर्नुपर्ने बताइन्। नेपालमा उत्पादन हुने स्वच्छ ऊर्जाको उपयोग बढाउँदै पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउनुपर्नेमा समेत उनले जोड दिइन्।

उनले मोबिलिटीलाई सवारीसाधनको खरिद–बिक्रीमा मात्र सीमित नगरी शिक्षा, स्वास्थ्य तथा रोजगारीमा पहुँच विस्तारसँग जोड्नुपर्ने धारणा राखिन्। सुरक्षित सडक, स्पष्ट ट्राफिक नियम र भरपर्दो पूर्वाधारलाई मोबिलिटी क्षेत्रको प्राथमिक आधारका रूपमा विकास गर्नुपर्ने उनको भनाइ छ।

नेपालमा ठूला अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना गर्न सुविधासम्पन्न प्रदर्शनी तथा सम्मेलन केन्द्रको अभाव रहेको उल्लेख गर्दै वैद्यले यस्तो पूर्वाधार निर्माणमा सरकारले ध्यान दिनुपर्ने बताइन्। यसले अटोमोबाइलसँगै पर्यटन र अन्य व्यापारिक गतिविधिलाई समेत लाभ पुग्ने उनको विश्वास छ।

भृकुटीमण्डपमा ६ दिनसम्म सञ्चालन हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५५ वटा ब्रान्डका सवारीसाधन तथा पार्टपुर्जा प्रदर्शनीमा राखिएका छन्। एक्स्पो अवधिमा ४० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक गर्ने तयारी गरिएको छ।

एक्स्पोमा सवारीसाधन तथा प्रविधिको प्रदर्शनीसँगै ‘मोबिलिटी संवाद’मार्फत विज्ञ तथा नीतिनिर्माताबीच नेपालको यातायात क्षेत्रको भविष्यबारे छलफलसमेत गरिनेछ।