मुक्तिनाथ विकास बैंकको नाडा अटो शो लक्षित अटो लोन योजना
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि विशेष अटो लोन योजना सार्वजनिक गरेको छ। बैंकले योजनाअन्तर्गत ५.५७ प्रतिशत विशेष ब्याजदरमा अटो लोन उपलब्ध गराउने जनाएको छ।
नाडा अटो शो २०२६ को अवसरलाई लक्षित गरी ल्याइएको उक्त योजना भदौ मसान्त २०८३ सम्म लागू हुनेछ। योजनाको अवधि समाप्त भएपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुने बैंकले जनाएको छ।
ग्राहकको कर्जा आवेदन तथा आवश्यक सम्पूर्ण कागजात पूरा भएको अवस्थामा बैंकले २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने व्यवस्था गरेको छ। यसले ग्राहकलाई आफूले रोजेको सवारी साधन खरिदका लागि छिटो, सहज र सरल रूपमा कर्जा सुविधा प्राप्त गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।
बैंकका अनुसार उक्त अटो लोन सुविधा देशभर रहेका १७६ वटै शाखामार्फत उपलब्ध हुनेछ। नाडा अटो शो २०२६ मा सहभागी हुने तथा नयाँ सवारी साधन खरिद गर्न इच्छुक ग्राहकले विशेष अटो लोन योजनाबाट लाभ लिन सक्नेछन्।
मुक्तिनाथ विकास बैंकले ग्राहकको आवश्यकता र बदलिँदो बजार परिवेशअनुसार सरल, सहज तथा प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। बैंकले यस विशेष अटो लोन योजनाले नयाँ सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई थप सुविधा र अवसर प्रदान गर्ने अपेक्षा गरेको छ।













