२७ श्रावण २०८३, बुधबार

मुक्तिनाथ विकास बैंकको खुद नाफा डेढ अर्ब नाघ्यो, कस्ता छन् अन्य सूचक ?



काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.४४ प्रतिशतले बढेको हो। अघिल्लो वर्षको असार मसान्तसम्म बैंकले १ अर्ब ३५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.५५ प्रतिशतले बढेर ४ अर्ब ७४ करोड ३८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले ४ अर्ब ६७ करोड १४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकाे थियाे ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ३.९० प्रतिशतले वृद्धि हुँदै ५ अर्ब ३९ करोड ८२ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ५ अर्ब १९ करोड ५८ लाख रुपैयाँ रहेको थियो। यससँगै बैंकको सञ्चालन मुनाफा पनि २०.१८ प्रतिशतले बढेर २ अर्ब ४२ करोड २७ लाख रुपैयाँ पुगेको छ।

खुद नाफा र सञ्चालन मुनाफा बढे पनि बैंकको वितरणयोग्य मुनाफा भने भारी गिरावट देखिएको छ। अघिल्लो वर्ष १ अर्ब ३५ करोड ४३ लाख रुपैयाँ रहेको वितरणयोग्य मुनाफा समीक्षा अवधिमा ५०.२५ प्रतिशतले घटेर ६७ करोड ३७ लाख रुपैयाँमा झरेको छ।

सार्वजनिक वित्तीय विवरण अनुसार सोही वितरणयोग्य मुनाफाका आधारमा बैंकको वार्षिक लाभांश क्षमता ८.४२ प्रतिशत रहेको छ। अघिल्लो वर्ष बैंकको लाभांश क्षमता १९.२२ प्रतिशत रहेको थियो।

नाफा बढे पनि वितरणयोग्य मुनाफा घटेका कारण बैंकको प्रतिसेयर आम्दानी (इपीएस) मा सामान्य गिरावट आएको छ। अघिल्लो वर्ष १९.१६ रुपैयाँ रहेको इपीएस समीक्षा अवधिमा घटेर १८.९८ रुपैयाँमा झरेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात भने बढेको छ। अघिल्लो वर्ष ३.९७ प्रतिशत रहेको खराब कर्जा बढेर ४.७७ प्रतिशत पुगेको छ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ रहेको छ। यस अवधिमा बैंकले १ खर्ब २३ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरी ९७ अर्ब २२ करोड रुपैयाँबाट १ खर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरेकाे छ।