शिवम् सिमेन्टको खुद नाफा ७८ करोडभन्दा माथि, कारोबार खुम्चिँदा लाभांश क्षमतामा दबाब
व्यापार खुम्चिन पुग्दा देशको अग्रणी सिमेन्ट उद्योग शिवम् को खुद नाफामा सामान्य गिरावट आएको छ।
काठमाडौँ । निर्माण क्षेत्रमा देखिएको शिथिलता र आर्थिक सुस्तताको प्रभाव ठूला उद्योगहरूको वित्तीय विवरणमा पनि प्रष्ट देखिन थालेको छ। यसैक्रममा सिमेन्ट उत्पादनका क्षेत्रमा ख्याति कमाएको शिवम् सिमेन्टले गत आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण सार्वजनिक गरेको छ, जसमा कम्पनीको नाफा र व्यापार दुवैमा सामान्य खुम्चाइ आएको छ।
निर्माण कार्यका निम्ति बजारमा सिमेन्टको माग घटेसँगै त्यसको असर कम्पनीको समग्र आम्दानीमा परेको यो तथ्यांकले देखाउँछ।
समीक्षा वर्षमा कम्पनीले कुल ७८ करोड ४४ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। जब कि यसअघिको आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ७९ करोड ८१ लाख ८६ हजार रुपैयाँ यस्तो नाफा आर्जन गरेको थियो। आम्दानीको ग्राफ तल झरेका कारण खुद नाफामा पनि सामान्य असर परेको हो।
व्यवसायको मुख्य स्रोत मानिने सञ्चालन आम्दानीमा पनि कमी आएको छ। अघिल्लो वर्ष ७ अर्ब ७६ करोड ६५ लाख ७६ हजार रुपैयाँको व्यापार गरेको कम्पनीले गत वर्ष ६ अर्ब ९२ करोड २६ लाख ५७ हजार रुपैयाँ बराबरको मात्र सिमेन्ट तथा क्लिंकर बिक्री गर्यो। समग्रमा व्यापार करिब ८४ करोडले घटेको देखिन्छ।
उत्पादन लागतमा आएको घटबढले कम्पनीको नाफाको आकारलाई प्रत्यक्ष प्रभावित पार्छ। गत वर्ष कम्पनीको बिक्री लागत अर्थात् कस्ट अफ सेल्स ५ अर्ब ३२ करोड ५१ लाख ४६ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यो शीर्षकमा कम्पनीले ६ अर्ब ३ करोड ९८ लाख ३२ हजार रुपैयाँ खर्चिएको थियो।
बिक्रीबाट हुने आम्दानी घटेसँगै कुल नाफा पनि खुम्चिन पुगेको छ। अघिल्लो वर्ष १ अर्ब ७२ करोड ६७ लाख ४४ हजार रुपैयाँ कुल नाफा रहेकोमा गत वर्ष घटेर १ अर्ब ५९ करोड ७५ लाख ११ हजार रुपैयाँमा सीमित भएको छ। मुख्य व्यवसाय बाहेक अन्य स्रोतबाट हुने आम्दानीमा भने ठूलो फेरबदल आएको छैन। गत वर्ष १३ करोड ३२ लाख १३ हजार रुपैयाँ अन्य आम्दानी भएको छ, जुन अघिल्लो वर्ष १३ करोड ७४ लाख ५६ हजार रुपैयाँ थियो।
व्यापार घटेपछि उद्योगले आफ्नो प्रशासनिक तथा बिक्री वितरण खर्चमा पनि मितव्ययिता अपनाएको देखिन्छ। गत वर्ष कम्पनीले प्रशासनिक कामतर्फ २६ करोड ६० लाख ८९ हजार रुपैयाँ खर्च गरेको छ भने बजार प्रवर्द्धन तथा बिक्री वितरणमा ५३ करोड ११ लाख १५ हजार रुपैयाँ खर्चिएको छ।
यी दुवै शीर्षक समेट्दा गत वर्ष कुल खर्च ८० करोड ८१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष प्रशासनिक खर्च २६ करोड ७१ लाख ९ हजार र बिक्री वितरण खर्च ६५ करोड ५३ लाख ५४ हजार गरी कुल खर्च ९३ करोड १६ लाख ४० हजार रुपैयाँ थियो। यसले कठिन बजारमा कम्पनीले खर्च नियन्त्रणमा केही हदसम्म सफलता पाएको सङ्केत गर्छ।
चुक्ता पुँजीका हिसाबले ५ अर्ब ५९ करोड ३२ लाख २८ हजार रुपैयाँ रहेको यस कम्पनीको अन्य इक्विटीमा ४ अर्ब ९६ करोड ४३ लाख ३७ हजार रुपैयाँ सञ्चित छ। बजारमा कम्पनीको वित्तीय आधार अझै पनि बलियो नै रहेको यसले देखाउँछ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ७६ पैसा रहेको छ। समग्रमा निर्माण सामग्रीको बजार केही सुस्त हुँदा त्यसको सामान्य धब्बा वित्तीय परिदृश्यमा देखिए पनि शिवम् सिमेन्टले आफ्नो बलियो बजार पकडलाई भने कायम राखेको छ।













