२८ श्रावण २०८३, बिहिबार

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताको १० लाख बीमादाबी रकम हस्तान्तरण



काठमाडौं। कुमारी बैंक लिमिटेडको गढवा शाखाले परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाबापत लाभग्राहीलाई १० लाख रुपैयाँ बीमादाबी रकम हस्तान्तरण गरेको छ।

श्रीमती खुमापौडेलका श्रीमानको दुर्घटनामा परी निधन भएपछि परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमादाबी प्रक्रिया पूरा गरी बैंकले उक्त रकम हस्तान्तरण गरेको हो। बैंकका अनुसार प्राप्त रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा आर्थिक सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कुमारी बैंकले ग्राहकको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनासँग बीमा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ। बैंकका अनुसार परिवार सुरक्षा बचत खातामा समावेश बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत प्रदान गर्नुका साथै भविष्यप्रतिको वित्तीय सुरक्षा बढाउन सहयोग पुर्‍याउँछ।

विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म वित्तीय सेवा र बीमा सुरक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले यस्ता सुविधा सञ्चालन गरिएको बैंकले जनाएको छ। यसले वित्तीय समावेशीकरणलाई थप मजबुत बनाउँदै आवश्यक समयमा ग्राहक तथा उनका परिवारलाई आर्थिक सहयोग पुग्ने बैंकको विश्वास छ।

२५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकका देशभर २८५ शाखा, ४१ विस्तारित काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ बिन्दु सञ्चालनमा छन्। बैंकले शहरी, अर्ध–शहरी तथा ग्रामीण क्षेत्रसम्म बैंकिङ सेवा विस्तार गर्दै आएको जनाएको छ।