२८ श्रावण २०८३, बिहिबार

धनुषा डिष्टिलरीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त



काठमाडौं। धनुषा डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ। आईपीओ निष्काशन प्रक्रिया अघि बढाउन कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

यससम्बन्धी सम्झौतामा मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित एक कार्यक्रममा धनुषा डिष्टिलरीका अध्यक्ष किसनकुमार धनावत र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।

कम्पनीले जारी पुँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने जनाएको छ।

सन् १९९८ मा स्थापना भएको धनुषा डिष्टिलरीले उद्योग विभागबाट उत्पादन तथा बजारीकरणको दर्ता प्रमाणपत्र प्राप्त गरी मदिरा उत्पादन गर्दै आएको छ। कम्पनीको वार्षिक उत्पादन क्षमता ९१ लाख ८० हजार लिटर रहेको छ।

हाल कम्पनीले मुख्य रूपमा प्रिमियम ब्रान्डका मुस्ताङ गोल्ड ह्विस्की र मुस्ताङ भोड्का उत्पादन तथा बिक्री–वितरण गर्दै आएको छ।

कम्पनीले आगामी दिनमा थप नयाँ उत्पादन बजारमा ल्याउने तयारी गरेको जनाएको छ। उत्पादनको गुणस्तर कायम राख्दै उत्पादन विविधीकरण तथा विस्तार गर्ने र नेपाली बजारसँगै अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्षम हुने लक्ष्य कम्पनीले लिएको छ।