प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मकः व्यवसाय विस्तारमा आक्रामक बन्दा कति कमायो नाफा ?
काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३७ करोड ५५ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३१ प्रतिशतले मात्र बढी हो। अघिल्लो वर्षको असार मसान्तसम्म कम्पनीले ३७ करोड ७ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद नाफामा सामान्य मात्र सुधार देखिए पनि कम्पनीको खुद बीमा शुल्क (नेट प्रिमियम) आर्जन भने २०.९७ प्रतिशतले बढेर ६ अर्ब २६ करोड ५७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी पनि १३.६३ प्रतिशतले वृद्धि हुँदै ७ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ पुगेको छ।
आम्दानीसँगै कम्पनीको दाबी भुक्तानी र खर्च पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १४.२१ प्रतिशतले बढेर ५ अर्ब ५२ करोड ८६ लाख रुपैयाँ पुगेको छ। यसैगरी, कम्पनीको कुल खर्च १४.३६ प्रतिशतले बढेर ७ अर्ब १४ करोड ३८ लाख रुपैयाँ पुगेको छ।
हाल कम्पनीको चुक्ता पुँजी ४ प्रतिशतले वृद्धि भई ५ अर्ब ३० करोड ७७ लाख रुपैयाँ पुगेको छ। यता, कम्पनीको सञ्चित मुनाफा (Retained Earnings) भने १८.३५ प्रतिशतले घटेर ४२ करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ।
खुद नाफामा सुस्त वृद्धि र चुक्ता पुँजी बढेका कारण कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) मा सामान्य गिरावट आएको छ। अघिल्लो वर्ष ७.२६ रुपैयाँ रहेको इपीएस समीक्षा अवधिमा घटेर ७.०८ रुपैयाँ कायम भएको छ। यद्यपि, कम्पनीको प्रतिसेयर नेटवर्थ भने ११५.९२ रुपैयाँबाट बढेर ११६.५८ रुपैयाँ पुगेको छ।













