२९ श्रावण २०८३, शुक्रबार

आइपिओको मूल्य निर्धारणमा नयाँ व्यवस्था, सेबोनले ल्यायो प्राथमिक पूँजी बजार सुधार नीति



काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालको प्राथमिक पूँजी बजारलाई थप आधुनिक, प्रभावकारी र लगानीकर्तामैत्री बनाउने उद्देश्यसहित ‘प्राथमिक पूँजी बजार सुधार नीति, २०८३’ सार्वजनिक गरेको छ।

प्राथमिक बजारको विकास तथा सुधारका लागि आवश्यक नीतिगत र कानुनी व्यवस्था पहिचान गर्न बोर्डले मर्चेन्ट बैंकर तथा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि सहभागी गराएर प्राथमिक बजार सुधार सहजीकरण कार्यदल गठन गरेको थियो। सोही कार्यदलले तयार गरेको नीतिलाई बोर्डले सार्वजनिक गरेको हो।

नीतिले उद्योग, पूर्वाधार, नवप्रवर्तन, साना तथा मझौला उद्यम तथा हरित र दिगो विकास परियोजनाका लागि दीर्घकालीन पूँजी सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ। यसका लागि उच्चस्तरीय नियमन, सुशासन, पारदर्शिता र प्रविधिमा आधारित सार्वजनिक निष्काशन प्रणाली विकास गर्ने नीति अघि सारिएको छ।

सेबोनका अनुसार सार्वजनिक निष्काशन प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी, डिजिटल र समयबद्ध बनाउने व्यवस्था नीतिको प्रमुख पक्ष हो। साथै, धितोपत्रको मूल्य निर्धारणलाई वैज्ञानिक तथा बजारमा आधारित बनाउने प्रणाली कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ।

नीतिले योग्य संस्थागत लगानीकर्ता तथा एङ्कर लगानीकर्ताको प्रभावकारी सहभागिता बढाउने विषयलाई समेत प्राथमिकतामा राखेको छ। सार्वजनिक निष्काशनबाट प्राप्त पूँजीको प्रभावकारी उपयोग भए–नभएको अनुगमन गर्ने प्रणाली विकास गर्ने तथा लगानीकर्ता संरक्षणलाई थप मजबुत बनाउने लक्ष्य पनि नीतिमा समेटिएको छ।

सेबोनले नीति कार्यान्वयनसँगै नेपालको प्राथमिक पूँजी बजार थप पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी, नवप्रवर्तनमुखी र प्रविधिमैत्री बन्ने तथा अन्तर्राष्ट्रिय मापदण्डअनुकूल दीर्घकालीन पूँजी परिचालनको आधार बलियो हुने विश्वास व्यक्त गरेको छ।