२९ श्रावण २०८३, शुक्रबार

नेपालको बिजुली देशबाहिर बेच्न निजी क्षेत्रलाई बाटो खोल्न आग्रह, कानुनभित्रै रहेर अनुमति दिन सकिने



देशमा उत्पादित बिजुलीको आन्तरिक खपत र अन्तर्राष्ट्रिय बजार विस्तारका लागि विद्यमान कानुनको परिधिभित्रै रहेर निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिनुपर्नेमा ऊर्जा क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूले जोड दिएका छन्।

काठमाडौँ । देशभर जलविद्युत उत्पादन तीव्र गतिमा बढेसँगै उत्पादित ऊर्जाको उचित बजारीकरण र भविष्यमा थपिने जोखिम न्यूनीकरणका लागि निजी क्षेत्रलाई पनि व्यापारको अनुमति दिनुपर्ने आवाज मुखरित हुन थालेको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपालले आयोजना गरेको एक कार्यक्रममा सहभागी ऊर्जा क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूले वर्तमान अवस्थामा सीमित निकायबाट मात्र ठूलो परिमाणको विद्युत व्यापार सम्भव नहुने ठहर गर्दै कानुनले नै यसको बाटो खुला गरेको स्पष्ट पारेका छन्।

उत्पादित बिजुली खेर जाने अवस्थाको अन्त्य गर्न र यसमा भइरहेको अर्बौँ लगानीको संरक्षण गर्न अब निजी क्षेत्रलाई पनि पावर ट्रेडिङको लाइसेन्स दिनुपर्नेमा उनीहरूको जोड थियो।

कार्यक्रममा प्रस्तुत भएका विभिन्न कार्यपत्र तथा धारणा अनुसार विद्यमान विद्युत ऐन २०४९ को परिधिभित्रै रहेर निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिन कुनै कानुनी अड्चन नरहेको उल्लेख गरिएको छ। प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक प्रबल अधिकारीले सरकारले नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीलाई व्यापारको अनुमति दिइसकेको अवस्थामा निजी क्षेत्रलाई पनि सोही आधारमा अगाडि बढाउन सकिने तर्क गरे।

ऐनको दफा २१ र २२ ले विद्युत खरिदबिक्री तथा आयात निर्यातका लागि स्पष्ट आधार दिएको र प्रसारण तथा वितरण प्रणालीको एक्लो भार सरकारले मात्र थेग्न नकसक्ने उनको भनाइ थियो। पूर्व ऊर्जासचिव अनुपकुमार उपाध्यायले पनि यसअघि राजनीतिक अस्थिरताका कारण रोसिएको यो विषय अब ढिला नगरी टुंग्याउनुपर्ने बताए।

ऊर्जा मन्त्रालय र नियमन आयोगका प्रतिनिधिहरूले पनि निजी क्षेत्रलाई सहकार्यमा ल्याएर विद्युत व्यापारलाई प्रभावकारी बनाउने विषयमा आफूहरू सकारात्मक रहेको बताएका छन्। ऊर्जा नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले भदौ पहिलो साताभित्रै खुला पहुँचसम्बन्धी निर्देशिका ल्याउने तयारी भइरहेको जानकारी दिए।

त्यस्तै, ऊर्जा मन्त्रालयका अधिकारीहरूले उत्पादनमा झन्डै ८० प्रतिशत योगदान पुर्‍याएको निजी क्षेत्रले अब व्यापारमा पनि फड्को मार्ने विश्वास व्यक्त गरेका छन्। नेपाल विद्युत प्राधिकरणका प्रतिनिधीहरूले पनि प्रतिस्पर्धात्मक बजारका लागि थप ट्रेडिङ कम्पनीहरू आउनुपर्ने र यसमा जोखिम साझेदारी गर्न प्राधिकरण तयार रहेको बताएका छन्।