कर्जा प्रवाह घट्दा स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफामा झड्का, कस्तो छ पछिल्लो वित्तीय अवस्था?
कर्जा लगानीमा देखिएको गिरावट र ब्याज आम्दानीमा आएको कमीले स्ट्याण्डर्ड चार्टर्ड बैंकको गत वर्षको नाफामा असर परेको छ।
काठमाडौँ । गत आर्थिक वर्ष २०८२/८३ मा स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफामा केही दबाब देखिएको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष खुद नाफा ५.३८ प्रतिशतले घटेको छ।
बैंकले समीक्षा अवधिमा २ अर्ब ८५ करोड २ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ, जबकि अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ३ अर्ब १ करोड २५ लाख ६३ हजार रुपैयाँ रहेको थियो।
नाफा घट्नुको मुख्य कारणमध्ये बैंकको खुद ब्याज आम्दानीमा आएको कमी एक हो। गत असार मसान्तसम्म बैंकले ३ अर्ब ९४ करोड ३२ लाख ९६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ११.६२ प्रतिशतले कम हो। अघिल्लो वर्ष यस्तो आम्दानी ४ अर्ब ४६ करोड २२ लाख ५० हजार रुपैयाँ रहेको थियो।
बैंकको कुल सञ्चालन आम्दानी ६ अर्ब ४० करोड ७५ लाख ४४ हजार रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब १६ करोड ५१ लाख ५० हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यस्ता आम्दानी र नाफा क्रमशः ६ अर्ब ५७ करोड ४७ लाख १० हजार रुपैयाँ र ४ अर्ब ६८ करोड ६७ लाख ५७ हजार रुपैयाँ थिए। यद्यपि, बैंकले शुल्क तथा कमिसन आम्दानीमा भने सुधार गर्दै १ अर्ब ४८ करोड ३६ लाख ४६ हजार रुपैयाँ पुर्याएको छ।
बैंकको वित्तीय अवस्था हेर्दा निक्षेप संकलन र कर्जा प्रवाहबीचको सन्तुलनमा केही फेरबदल आएको देखिन्छ। यस अवधिमा बैंकमा सर्वसाधारण र संस्थागत निक्षेपकर्ताको विश्वास कायमै रहेको भान हुन्छ, किनकि निक्षेप संकलन १७.८२ प्रतिशतले बढेर १ खर्ब ४७ अर्ब ६८ करोड ३९ लाख रुपैयाँ पुगेको छ।
तर, आर्थिक मन्दी वा लगानीको वातावरणमा देखिएको अन्योलका कारण बैंकको कर्जा लगानी ९.४१ प्रतिशतले खुम्चिएर ६६ अर्ब ३ करोड २१ लाख रुपैयाँमा झरेको छ। यसको असर बैंकको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) मा पनि परेको छ, जुन ४७.२४ प्रतिशतमा सीमित छ। सामान्यतया बैंकमा पैसा थुप्रिने तर बजारमा कर्जाको माग नहुँदा लगानी खुम्चिने समस्या जस्तै यो बैंकको अवस्था पनि अहिले त्यस्तै देखिन्छ।
जति निक्षेप संकलन भएको छ, त्यसको आधा पनि लगानी नगर्नुले बैंकको ‘इफिसियन्सी’मा गम्भीर प्रश्न खडा गर्छ । तर यो बैंक किन पनि अपवाद हो भने, नेपालका यसले अन्तरराष्ट्रिय भुक्तानीको ‘सेटलमेन्ट बैंक’को भूमिकामा ज्यादा काम गर्छ । यद्यपि, आफ्नो सामथ्र्य अनुसार कारोबार गर्न नसक्दा बैंकको नाफा र लाभांश क्षमता खुम्चिएको यो वित्तीय विवरणमा स्पष्ट देखिन्छ ।
लगानीकर्ताका लागि चासोको विषय रहेको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड १५ लाख ९२ हजार रुपैयाँ पुगेको छ। यसका आधारमा बैंकको लाभांश वितरण क्षमता १९.०४ प्रतिशत कायम छ। बैंकको चुक्ता पुँजी १० अर्ब ४ करोड २३ लाख ६८ हजार रुपैयाँ छ भने जगेडा कोष बलियो देखिएको छ। प्रतिसेयर आम्दानी भने अघिल्लो वर्षको ३० रुपैयाँबाट घटेर २८.३८ रुपैयाँमा झरेको छ।
जोखिम व्यवस्थापनका हिसाबले हेर्दा, बैंकको खराब कर्जा अनुपात केही बढेको छ। अघिल्लो वर्ष १.४१ प्रतिशत रहेको खराब कर्जा बढेर २.०३ प्रतिशत पुगेको छ। पुँजी पर्याप्तताका हिसाबले भने बैंक सन्तोषजनक अवस्थामा नै रहेको छ। बैंकको टायर वान क्यापिटल एडुकेसी रेसियो अघिल्लो वर्षको १५.७५ प्रतिशतबाट बढेर १६.६८ प्रतिशत कायम भएको छ भने समग्र क्यापिटल एडुकेसी रेसियो १८.१३ प्रतिशत रहेको छ।













