३० श्रावण २०८३, शनिबार

व्यापार विस्तारमा लक्ष्मी सनराइज बैंककाे फड्काेः खुद ब्याज आम्दानी साढे ११ अर्ब नाघ्यो, कर्जा लगानी ३ खर्ब बढी



काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा लक्ष्मी सनराइज बैंक लिमिटेडको खुद नाफामा गिरावट आएको छ। बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले समीक्षा अवधिमा ३ अर्ब ११ करोड १७ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म बैंकले ४ अर्ब ६२ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको खुद नाफा २३.२६ प्रतिशतले घटेको हो।

नाफामा गिरावट आए पनि बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी भने ६.७८ प्रतिशतले बढेर ११ अर्ब ५८ करोड ८५ लाख १५ हजार रुपैयाँ पुगेको छ।अघिल्लो वर्ष यस्ताे आम्दानी १० अर्ब ८५ करोड १९ लाख ८४ हजार रुपैयाँ रहेकाे थियाे ।

यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १५ अर्ब ६६ करोड ६६ लाख ४१ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४ अर्ब ७० करोड ८६ लाख २ हजार रुपैयाँ रहेको छ।

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८१ करोड १८ लाख ४७ हजार रुपैयाँले ऋणात्मक हुन पुगेको छ, जबकि अघिल्लो वर्ष यसै अवधिमा यस्तो मुनाफा २ अर्ब ९६ करोड ४२ लाख ५८ हजार रुपैयाँले धनात्मक थियो। वितरणयोग्य मुनाफा नै ऋणात्मक तथा घाटामा रहेको कारण यस वर्ष बैंकले आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्न सक्ने क्षमता राख्दैन अर्थात् बैंकको लाभांश क्षमता शून्य रहेको छ।

नाफामा आएको वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (इपीएस) ११.६४ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्ष १६.६८ रुपैयाँ रहेको थियो।बैंकको खराब कर्जा अनुपात भने बढेर ५.२३ प्रतिशत पुगेकाे छ। बैंकले व्यावसायिक विस्तारलाई निरन्तरता दिँदै विभिन्न वित्तीय सूचकहरूलाई सन्तुलनमा राख्ने प्रयास गरिरहेको यस अपरिष्कृत विवरणले देखाएको छ।

हाल बैंकको चुक्ता पुँजी २६ अर्ब ८७ करोड ११ लाख ६३ हजार रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको निक्षेप संकलन र कर्जा प्रवाहमा वृद्धि भएको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १५.११ प्रतिशतले बढेर ४ अर्ब २४ अर्ब ३९ करोड ७६ लाख रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ११.१३ प्रतिशतले बढेर ३ खर्ब ६ अर्ब ५३ करोड ५६ लाख रुपैयाँ पुगेको छ।