३० श्रावण २०८३, शनिबार

वाणिज्य बैंकहरूको नाफामा उत्साहजनक सुधार, कसले कति कमाए?



आर्थिक वर्ष २०८२/८३ मा वाणिज्य बैंकहरूको सामूहिक खुद नाफा ३२ प्रतिशतभन्दा धेरैले वृद्धि भई करिब ७० अर्ब रुपैयाँ पुगेको छ।

काठमाडौँ । गत आर्थिक वर्ष २०८२/८३ बैंक तथा वित्तीय संस्थाहरूका लागि मिश्रित परिणामको वर्ष बनेको छ। देशका २० वटा वाणिज्य बैंकहरूको पछिल्लो अपरिष्कृत वित्तीय विवरणले समग्रमा बैंकिङ क्षेत्रले उत्साहजनक छलाङ मारेको देखाएको छ।

समीक्षा अवधिमा यी बैंकहरूले कुल ६९ अर्ब ८६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ५२ अर्ब ८१ करोड ७५ लाख रुपैयाँमा सीमित रहेको बैंकहरूको यो कमाइ तुलनात्मक रूपमा ३२.२७ प्रतिशत अर्थात् १७ अर्ब ४ करोड ८५ लाख रुपैयाँले बढी हो।

यो तथ्यांकले अर्थतन्त्रका अन्य सूचकहरू सुस्त देखिए पनि बैंकिङ क्षेत्रले गति समातेको संकेत गर्छ। खासगरी गत असार महिनामा काठमाडौँ उपत्यका लगायतका शहरी क्षेत्रमा बढेको घरजग्गाको कारोबार, ब्याज अशुलीका लागि राष्ट्र बैंकले दिएको १५ दिनको अतिरिक्त समय र कतिपय अवस्थामा बैंकहरुले खराब ऋण उठाउन नयाँ ऋण दिने प्रयासले पनि वित्तीय क्षेत्रको समग्र चित्रमा सुखद संकेतहरु देखिएका छन् ।

नबिलको अग्रता र कुमारीको ‘कमब्याक’

नाफाको आकार हेर्दा नबिल बैंक सबैभन्दा शक्तिशाली देखिएको छ। अघिल्लो वर्षको तुलनामा ३३.५० प्रतिशतको वृद्धि हासिल गर्दै नबिलले ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अर्कोतर्फ, वृद्धिदरको हिसाबले हिमालयन बैंकले सबैलाई चकित पारेको छ। अघिल्लो वर्ष सामान्य नाफामा खुम्चिएको यो बैंकले गत वर्ष १ हजार ४१ प्रतिशतको वृद्धि हासिल गर्दै १ अर्ब ४८ करोड ३ लाख रुपैयाँ पुर्‍याएको छ।

त्यस्तै, कुमारी बैंकले पनि ३०५.९५ प्रतिशतको आकर्षक वृद्धि दरका साथ ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। यस हिसाबले ‘इण्डस्ट्री’कै सर्वेसर्वा बनेको नबिललाई खुद नाफाको आँकडाले ‘टक्कर दिन’ कुमारी अगाडी आएको छ । बल्लतल्ल वितरणयोग्य नाफाको आँकडा धनात्मक बनाउन सकेको भए पनि कुमारीको यो आक्रामक प्रगति नेपाली बैंकिङमा साँच्चै ‘उल्लेखनीय’ छ ।

सिटिजन्स बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले पनि क्रमशः ६३.०५, ६०.६८ र ४६.२० प्रतिशतको नाफा वृद्धि देखाएका छन्। एनएमबी, सानिमा, प्राइम कमर्सियल र ग्लोबल आइएमई बैंकहरूले पनि बजारको उतारचढावका बीच अर्बौंको नाफा आर्जन गरी आफ्नो उपस्थितिलाई थप बलियो बनाएका छन्।

विशेषगरी एनआईसी एशिया बैंकका लागि गत वर्ष राहतको वर्ष रह्यो। अघिल्लो वर्ष झन्डै पौने चार अर्ब रुपैयाँ नोक्सानीमा रहेको यो बैंकले गत वर्ष १८ करोड १७ लाख रुपैयाँ नाफा कमाएर आफूलाई नोक्सानीको खाडलबाट बाहिर निकालेको छ।

केही बैंकका लागि चुनौतीपूर्ण वर्ष

सबै बैंकको कथा उस्तै सुखद भने छैन। केही बैंकहरूको खुद नाफामा अघिल्लो वर्षको तुलनामा गिरावट आएको छ। विशेषगरी स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ५.३८ प्रतिशत, लक्ष्मी सनराइजको २३.२६ प्रतिशत, कृषि विकास बैंकको २९.५१ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को ३६.५८ प्रतिशतले घटेको छ।

बजारको बदलिँदो परिवेशमा केही ठूला बैंकहरू समेत नाफा जोगाउन संघर्षरत देखिएका छन्। अझ चिन्ताको विषय त प्रभु बैंकको अवस्था रहेको छ, जुन अघिल्लो वर्ष नाफामा रहे पनि गत आर्थिक वर्षमा २४ करोड १२ लाख ४३ हजार रुपैयाँ खुद घाटामा गएको छ। यो अवस्थाले बैंकिङ क्षेत्रमा पनि घर–घरको कथा फरक हुने गरेको र बजारको जोखिम व्यवस्थापनमा चुक्दा राम्रा बैंकहरू पनि अप्ठ्यारोमा पर्न सक्छन् भन्ने उदाहरण पेस गरेको छ।

समग्रमा, बैंकहरूको नाफाको यो ग्राफले नेपालको वित्तीय क्षेत्र बिस्तारै लयमा फर्किँदै गरेको देखाउँछ। तथापि, केही बैंकहरूमा देखिएको नाफाको संकुचन र घाटाले आगामी दिनमा बैंकिङ क्षेत्रमा थप सतर्कता र रणनीतिक सुधारको खाँचो रहेको संकेत गर्दछ।