आईपीओ निष्कासन गर्दै जेमिनी रिसाइकल नेपाल, अब नेपालमै हुनेछ ईभी ब्याट्री रिसाइकलिङ
काठमाडौं । औद्योगिक क्षेत्रमा आफ्नो उपस्थिति बनाएको जेमिनी रिसाइकल नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ।
मोरङको बुढीगंगा–५, हात्तीमुढामा सम्पन्न कम्पनीको विशेष साधारण सभाले पूँजी विस्तार तथा आगामी व्यावसायिक रणनीतिसम्बन्धी महत्वपूर्ण प्रस्तावहरू पारित गरेको हो।
सभाले कम्पनीको कुल ५० करोड रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात् १० लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। त्यस्तै, १०० रुपैयाँ अंकित मूल्यमा ९० रुपैयाँ प्रिमियम थप गरी संस्थापक शेयरको मूल्य प्रतिकित्ता १९० रुपैयाँ कायम गर्ने निर्णय गरिएको छ।
परम्परागत रिसाइकलिङ व्यवसायलाई विस्तार गर्दै कम्पनीले नेपालमा बढ्दो विद्युतीय सवारीसाधन (ईभी) को प्रयोगसँगै भविष्यमा उत्पन्न हुने ब्याट्री व्यवस्थापनको चुनौतीलाई व्यावसायिक अवसरका रूपमा उपयोग गर्ने योजना बनाएको छ।
हाल पुराना ब्याट्री तथा प्लास्टिक प्रशोधन गर्दै आएको जेमिनीले अब प्रयोग भइसकेका ईभी ब्याट्रीलाई पुनः प्रशोधन गरी उपयोगी कच्चा पदार्थमा रूपान्तरण गर्ने प्रविधि भित्र्याउने तयारी गरेको जनाएको छ।
नेपालमा ईभीको प्रयोग बढ्दै गएसँगै आगामी वर्षहरूमा प्रयोग भइसकेका ब्याट्रीको व्यवस्थापन महत्वपूर्ण विषय बन्ने कम्पनीको आकलन छ। सोही कारण ईभी ब्याट्री रिसाइकलिङलाई कम्पनीले आफ्नो भावी व्यवसायको महत्वपूर्ण क्षेत्रका रूपमा अघि सारेको हो।
जेमिनी रिसाइकलले हाल पुराना ब्याट्रीबाट रिमेल्टेड तथा रिफाइन्ड लिड उत्पादन गर्दै आएको छ। कम्पनीले आल्मुनियम र कपर स्क्र्याप प्रशोधन गर्नुका साथै पुराना प्लास्टिकबाट दाना तथा चिप्स उत्पादन गर्दै आएको जनाएको छ।
कम्पनीका अधिकांश उत्पादन भारतीय बजारमा निर्यात हुँदै आएका छन्। फोहोरजन्य सामग्रीलाई औद्योगिक कच्चा पदार्थमा रूपान्तरण गरी निर्यात गर्ने भएकाले यसबाट नेपालको व्यापार घाटा न्यूनीकरणमा समेत योगदान पुग्ने कम्पनीको अपेक्षा छ।
कम्पनीको नेतृत्व व्यवसायी दिवाकर राठीले गरिरहेका छन्। सञ्चालक समितिमा अटो व्यवसायी आकाश गोल्छा र विल किशोर मेन्याङ्गबो रहेका छन्।
कम्पनीमा टप फन्ड लिमिटेड, स्टार फन्ड इन्भेष्टमेन्ट तथा हारवेस्ट भेन्चर्सलगायत संस्थागत लगानीकर्ताको समेत सहभागिता रहेको जनाइएको छ।
कम्पनीले वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै सार्वजनिक–निजी साझेदारीको अवधारणामा फोहोर व्यवस्थापनसम्बन्धी काम अघि बढाउने योजना बनाएको छ।
घर, कार्यालय तथा उद्योगबाट निस्कने फोहोर व्यवस्थित रूपमा संकलन गर्न मोबाइल एप विकास गर्ने कम्पनीको तयारी छ। एपमार्फत घरदैलोबाटै फोहोर संकलन गरी प्रशोधन केन्द्रसम्म पुर्याउने र व्यवस्थित फोहोर व्यवस्थापनमार्फत शहरलाई स्वच्छ बनाउन योगदान गर्ने कम्पनीको दीर्घकालीन योजना छ।
आईपीओमार्फत सर्वसाधारणलाई लगानीको अवसर उपलब्ध गराउँदै रिसाइकलिङ प्रविधिमा लगानी विस्तार गर्ने र वातावरण संरक्षणसँगै औद्योगिक कच्चा पदार्थ उत्पादन तथा निर्यातमा योगदान पुर्याउने लक्ष्य कम्पनीले लिएको छ।













