३१ श्रावण २०८३, आइतबार

स्वदेशमै रोजगारी र उत्पादन वृद्धिलाई केन्द्रमा राख्दै कांग्रेसले ल्यायो नयाँ आर्थिक नीतिको खाका



नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवादको लक्ष्यलाई पछ्याउँदै बदलिँदो विश्व परिवेश र प्रविधि अनुसार निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य खम्बा मान्ने नयाँ आर्थिक मार्गचित्र सार्वजनिक गरेको छ।

काठमाडाैँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहद्वारा आयोजित तीन दिने राष्ट्रिय भेलामा पार्टीका पूर्वअर्थमन्त्री तथा पूर्वप्रवक्ता डा. प्रकाशशरण महतले ‘नेपाली कांग्रेसको आर्थिक सामाजिक नीतिको कार्यदिशा’ शीर्षकको विस्तृत प्रतिवेदन प्रस्तुत गरेका छन्। उक्त भेलामा कांग्रेसको पुरानो प्रजातान्त्रिक समाजवादी वैचारिक आधारलाई वर्तमान समय र भूराजनीतिक परिवेशसँग जोड्दै देशको आर्थिक रूपान्तरणका लागि नौवटा प्रमुख क्षेत्र समेटिएको विस्तृत नीतिगत खाका अघि सारिएको छ।

डा. महतले प्रतिवेदन प्रस्तुत गर्दै विसं २०१२ को वीरगञ्ज अधिवेशनदेखि बीपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादी सिद्धान्त नै कांग्रेसको आर्थिक नीतिको मूल आधार भएको बताएका छन्। २०१५ सालको पहिलो जननिर्वाचित सरकारले भूमि सुधार र बिर्ता उन्मूलन जस्ता क्रान्तिकारी कदम चालेको स्मरण गर्दै उनले २०४६ सालको परिवर्तनपछि लिइएको आर्थिक उदारीकरणको नीतिले नेपालको अर्थतन्त्रलाई परम्परागत संकुचनबाट मुक्त गराएको बताए।

राज्य नियन्त्रित अर्थतन्त्रको विश्वव्यापी असफलतालाई मध्यनजर गर्दै निजी क्षेत्रलाई उत्पादन र व्यापारको मुख्य अग्रभागमा राखिएको कारण नै गरिबी ५० प्रतिशतभन्दा बढीले घटेको, बिजुलीको पहुँच ९९ प्रतिशत पुगेको र औसत आयु ५४ वर्षबाट बढेर ७१ वर्ष पुगेको बताए।

राजनीतिक अस्थिरता, लामो हिंसात्मक द्वन्द्व, भूकम्प र कोभिडको महामारीका बाबजुद कांग्रेसको आर्थिक नीतिले देशलाई उकासेको बताउँदै उनले वर्तमान समयमा देखिएका आर्थिक गतिरोध र युवा पलायनलाई रोक्न नयाँ नीतिगत प्रतिबद्धता आवश्यक रहेको औंल्याए।

वर्तमान समयमा युवाहरूले व्यक्त गरेको असन्तोषको प्रमुख कारण अपेक्षीत आर्थिक विकास र रोजगारी सिर्जना हुन नसक्नु रहेको स्वीकार गर्दै उनले अबको कांग्रेसको नीति स्वदेशमै गुणस्तरीय र दिगो रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित हुने बताए।

सरकारले पुँजीगत खर्चको आकार बढाउँदै पूर्वाधारको गुणस्तर सुधार गर्नुपर्नेमा जोड दिँदै उनले लगानीसम्बन्धी कानुनलाई गैरअपराधीकरण गरी वित्तीय जरिवानामा मात्र केन्द्रित गर्नुपर्ने प्रस्ताव अघि सार्नुभयो। बैंक तथा वित्तीय संस्थाहरूले हाल अभ्यास गरिरहेको धितोमा आधारित कर्जा प्रणालीको साटो उद्यमीहरूको परियोजनामा आधारित कर्जा प्रवाह गर्ने कानुनी तथा नीतिगत व्यवस्था गर्न पहल गरिने बताए। सार्वजनिक वित्त परिचालनको दायरा फराकिलो बनाउँदै वित्तीय क्षेत्रको लगानी उत्पादनमूलक क्षेत्रमा केन्द्रित गराउने र वैदेशिक लगानी आकर्षित गर्ने नीति कांग्रेसले लिने स्पष्ट पारे।

कृषि क्षेत्रको उत्पादकत्व बढाउन बिउबिजन, मल, प्रविधि र सिँचाइको सहज पहुँच पुर्‍याउने बताउँदै उनले कृषकको खातामै सिधा अनुदान रकम ट्रान्सफर गर्ने प्रणाली लागू गर्ने बताए। आत्मनिर्भर हुन सक्ने कृषि उत्पादनको आयातमा भन्सार वृद्धि गरिने, कृषिजन्य उत्पादनका आधारमा अनुदान दिइने र बाँझो जमिनलाई लिजमा लिएर ठूला प्लटमा खेती गर्न विदेशबाट फर्केका उद्यमीहरूलाई प्रोत्साहन गरिने उल्लेख गरे। साथै कृषि विकास बैंकलाई सहुलियतपूर्ण ऋण प्रवाह गर्ने विशेष बैंकको रूपमा विकास गरिने बताए।

पर्यटन क्षेत्रको विकासका लागि धार्मिक, साहसिक, इको, खेलकुद तथा स्वास्थ्य पर्यटनलाई प्रवर्द्धन गर्न बाह्रै महिना चल्ने सक्की सडकहरूको सञ्जाल विस्तार गरिने बताए। भारत र चीनको बढ्दो समृद्धिलाई लक्षित गर्दै उच्च खर्च गर्ने पर्यटकहरूलाई आकर्षित गर्न ठूला लगानीकर्ताहरूलाई प्रोत्साहन गरिने र नेपाल वायु सेवा निगमलाई अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग साझेदारीमा सञ्चालन गर्ने प्रस्ताव गरे। जलविद्युत क्षेत्रमा रन अफ द रिभर आयोजनाहरूमा निजी क्षेत्रलाई संलग्न गराउने र जलाशययुक्त आयोजनाहरूमा विदेशी लगानी आकर्षित गर्ने नीति लिइने बताए।

सूचना प्रविधि क्षेत्रलाई रोजगारी र वैदेशिक मुद्रा आर्जनको प्रमुख माध्यम बनाउन युवाहरूलाई नियमित तालिम दिई दक्ष बनाइने र कर छुटका सुविधाहरूलाई निरन्तरता दिइने बताए। शिक्षा क्षेत्रमा सार्वजनिक विद्यालयहरूको गुणस्तर सुधार गर्न प्रविधिको प्रयोग बढाउने, शिक्षकको सेवा-सुविधालाई विद्यार्थीको नतििकासँग जोड्ने र नेपाललाई मेडिकल शिक्षाको हब बनाउने नीति लिइने बताए। स्वास्थ्य क्षेत्रमा नागरिकहरूको सहभागितामा स्वास्थ्य बिमाको दायरा फराकिलो बनाउने र सामाजिक सुरक्षालाई विपन्न तथा सीमान्तकृत समुदायमा मात्र लक्षित गर्ने प्रस्ताव गरे।

राज्यले बजारलाई नियन्त्रण गर्नेभन्दा पनि सहयोगी, उत्प्रेरक र नियमनकारीको भूमिका खेल्नुपर्नेमा जोड दिँदै उनले करको दायरा फराकिलो बनाउने तर करको बोझ कम गर्ने बताए। भन्सार तथा आन्तरिक कर प्रणालीलाई अनुमानयोग्य बनाउँदै आन्तरिक उत्पादन र निर्यातलाई प्रोत्साहन गर्ने नीति कांग्रेसले अंगाल्ने बताए। बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादी विचार नै पार्टीको मूल मन्त्र रहेको बताउँदै उनले आगामी दिनमा जनताको आर्थिक समृद्धिको अपेक्षा पूरा गर्न कांग्रेस नै सबैभन्दा अब्बल र भरपर्दो सहयात्री बन्ने बताए।

यस्ताे छ महतकाे पुरा प्रतिवेदनः