१ भदौ २०८३, सोमबार

सरकार र म्यानपावर व्यवसायीबीच सहमति, ४५ दिनभित्र माग सम्बोधन गरिने



काठमाडौं । वैदेशिक रोजगार व्यवसायी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच व्यवसायीका १५ बुँदे मागलाई आगामी ४५ दिनभित्र सम्बोधन गर्ने सहमति भएको छ। सहमति जुटेसँगै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले घोषणा गरेका आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ।

संघका महासचिव हरि डाँगीका अनुसार म्यानपावर व्यवसायीले भोलिदेखि नियमित रूपमा कार्यालय सञ्चालन गर्ने भएका छन्। माग पूरा नभएको भन्दै संघले यसअघि देशभरका म्यानपावर कम्पनी बन्द गरेर श्रमिक पठाउनेलगायतका सेवा रोक्ने निर्णय गरेको थियो।

व्यवसायीहरूले सेवा शुल्क निर्धारण, वैदेशिक रोजगार विभागबाट भएका कारबाही फिर्ता तथा व्यवसाय सञ्चालनसँग सम्बन्धित विभिन्न नीतिगत विषयमा सुधारको माग राख्दै आएका थिए।

मन्त्रालय र संघबीच नीतिगत विषयलाई आवश्यकताअनुसार वैदेशिक रोजगारसम्बन्धी ऐन तथा नियमावली संशोधनमार्फत सम्बोधन गर्ने सहमति भएको छ।

संघले साउन २२ गतेदेखि आफ्ना १५ बुँदे माग कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउँदै विभिन्न चरणका आन्दोलन तथा दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएको थियो। मन्त्रालयसँग सहमति भएपछि तत्कालका लागि ती सबै कार्यक्रम स्थगित गरिएको संघले जनाएको छ।