२ भदौ २०८३, मंगलबार

नयाँ आर्थिक वर्षको पहिलो महिनामै ९३ अर्बभन्दा बढी राजस्व संकलन, बजेट खर्च कति?



काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएको पहिलो महिनामै सरकारको राजस्व संकलनमा उल्लेख्य सुधार देखिएको छ। साउन मसान्तसम्म सरकारले ९३ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको हो।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार साउनको कुल सरकारी प्राप्ति अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १० प्रतिशत बढी हो। गत वर्षको साउनको तुलनामा यसपटक सरकारी प्राप्ति करिब ८ अर्ब २४ करोड रुपैयाँले बढेको छ।

समीक्षा अवधिमा कर राजस्वबाट ८५ अर्ब १९ करोड ६ लाख रुपैयाँ संकलन भएको छ। यस्तै, गैरकर राजस्वमार्फत ७ अर्ब ३ करोड ४७ लाख रुपैयाँ प्राप्त भएको छ। सरकारले साउनमा २४ करोड ३ लाख रुपैयाँ बराबरको वैदेशिक अनुदानसमेत प्राप्त गरेको छ। साउनको प्राप्ति वार्षिक लक्ष्यको करिब ५.७ प्रतिशत हो।

चालु आर्थिक वर्षमा सरकारले विभिन्न स्रोतबाट कुल १६ खर्ब ४२ अर्ब ६ करोड ३७ लाख रुपैयाँ राजस्व तथा अन्य प्राप्ति गर्ने लक्ष्य राखेको छ।

बजेट खर्च कति ?

राजस्व संकलन बढे पनि सरकारी खर्च भने सुस्त देखिएको छ। साउनमा सरकारी खर्च ४१ अर्ब ८८ करोड ५८ लाख रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्षका लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख रुपैयाँको बजेट ल्याएको छ। साउनमा भएको खर्च कुल वार्षिक बजेटको १.९७ प्रतिशत मात्रै हो।

सरकारी खर्चमध्ये चालुतर्फ साउन मसान्तसम्म २१ अर्ब ४० करोड ३८ लाख रुपैयाँ खर्च भएको छ। चालु खर्चका लागि सरकारले १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँ विनियोजन गरेको छ। यसअनुसार पहिलो महिनामा विनियोजित चालु बजेटको १.६८ प्रतिशत खर्च भएको हो।

पुँजीगत खर्च भने तुलनात्मक रूपमा न्यून देखिएको छ। सरकारले पुँजीगत शीर्षकमा ४ खर्ब ३१ अर्ब रुपैयाँ विनियोजन गरेकोमा साउनसम्म त्यसको ०.३१ प्रतिशत मात्र खर्च भएको छ।

यस्तै, वित्तीय व्यवस्थातर्फ साउन मसान्तसम्म १९ अर्ब १५ करोड ३५ लाख रुपैयाँ खर्च भएको छ। यो शीर्षकमा गरिएको वार्षिक विनियोजनको ४.५३ प्रतिशत बराबर हो।

यसरी आर्थिक वर्षको पहिलो महिनामै राजस्व संकलनमा सुधार देखिए पनि विकास निर्माणसँग सम्बन्धित पुँजीगत खर्च भने निकै न्यून रहेको सरकारी तथ्यांकले देखाएको छ।