७,५०० एमएएच ब्याट्री क्षमतासहित रेडमी १७ सिरिज नेपाली बजारमा
काठमाडाैँ । नेपाली स्मार्टफोन बजारमा शाओमीले आफ्नो बहुप्रतिक्षित ‘रेडमी १७’ सिरिज सार्वजनिक गरेको छ। रेडमी १७ र रेडमी १७ फाइभजी मोडलमा आधारित यो सिरिज विशेष गरी लामो समयसम्म ब्याट्री टिक्ने सुविधा खोज्ने प्रयोगकर्ताहरूलाई लक्षित गरेर ल्याइएको हो।
दिनभर मोबाइलको चार्ज सकिने चिन्ताबाट मुक्त हुन चाहने उपभोक्ताका लागि यो सिरिज एक उत्कृष्ट विकल्प बन्न सक्ने कम्पनीको दाबी छ। स्मुथ १२० हर्ज डिस्प्ले र दैनिक प्रयोगमा टिकाउपनका लागि परिचित यो फोनले प्रयोगकर्तालाई थप सहजता प्रदान गर्नेछ।
रेडमी १७ सिरिजको मुख्य आकर्षण नै यसको ७,५०० एमएएचको विशाल ब्याट्री हो। आफ्नो श्रेणीमा उपलब्ध स्मार्टफोनहरूमध्ये यो सबैभन्दा ठूलो ब्याट्री क्षमतामध्ये एक मानिन्छ। यसका कारण प्रयोगकर्ताले भिडियो स्ट्रिमिङ, गेमिङ वा कार्यालयको लामो काम गर्दा पनि बारम्बार चार्जर खोजिरहनु पर्दैन।
साथै, ४५ वाटको टर्बो चार्जिङ प्रविधिले फोनलाई छिटो चार्ज गरी प्रयोगकर्ताको समय बचत गर्छ। यसका अतिरिक्त, फोनमा २२.५ वाटको रिभर्स चार्जिङ सुविधा पनि छ, जसले गर्दा आवश्यकता परेका बेला प्रयोगकर्ताले आफ्नो फोनलाई पावर बैंकका रूपमा प्रयोग गरी इयरबड्स, स्मार्टवाच वा साथीको फोनसमेत चार्ज गर्न सक्छन्। नेटवर्क र प्रयोगको प्रकृतिअनुसार रेडमी १७ फाइभजीमा साधारण रेडमी १७ को तुलनामा बढी ब्याट्री लाइफ पाउन सकिन्छ।
दुवै स्मार्टफोनमा ६.९ इन्चको ठूलो एचडी डिस्प्ले र १२० हर्जको रिफ्रेस रेट राखिएको छ। यसले गर्दा स्क्रोलिङ, गेमिङ र भिडियो हेर्दाको अनुभव निकै सहज र जीवन्त देखिन्छ, साथै यसले ब्याट्रीको खपतलाई समेत सन्तुलित राख्छ।
रेडमी १७ मा मिडियाटेक हेलियो जी९१-अल्ट्रा प्रोसेसर जडित छ भने रेडमी १७ फाइभजीमा द्रुत गतिको फाइभजी कनेक्टिभिटीका लागि स्न्यापड्रागन ४ जेन ५ मोबाइल प्लेटफर्म प्रयोग गरिएको छ। दुवै फोन शाओमीको हाइपर ओएस ३ मा चल्छन्। मल्टिटास्किङलाई थप प्रभावकारी बनाउन १२ जीबीसम्मको र्याम विस्तार (मेमोरी एक्सटेन्सन) सुविधा पनि उपलब्ध गराइएको छ।
फोनको पछाडि ५० एमपीको एआई डुअल क्यामेरा सेटअप छ भने सेल्फी र भिडियो कलका लागि ८ एमपीको फ्रन्ट क्यामेरा दिइएको छ। यसमा रहेको ‘डुअल-भ्यू’ भिडियो रेकर्डिङ फिचरले एकै पटक विभिन्न कोणबाट महत्त्वपूर्ण पलहरू कैद गर्न मद्दत गर्छ। अडियो अनुभवलाई थप रोमाञ्चक बनाउन ३०० प्रतिशतसम्म भोल्युम बुस्ट हुने डुअल स्टेरियो स्पिकरहरू जडान गरिएको छ।
साथै, ३.५ एमएमको हेडफोन ज्याक र छिटो भुक्तानीका लागि एनएफसी सुविधा पनि यसमा पाउन सकिन्छ। २३२ ग्राम तौलका यी फोनहरू आईपी६४ धुलो र पानी प्रतिरोधक क्षमताका साथ आउँछन्, जसले गर्दा प्रतिकूल मौसममा पनि ढुक्क भएर प्रयोग गर्न सकिन्छ।
रेडमी १७ का विभिन्न भेरियन्टहरू नेपाली बजारमा उपलब्ध छन्। ब्ल्याक, डिप ब्लु, ओक ग्रीन र लोटस पर्पल रङमा उपलब्ध रेडमी १७ को ४ जीबी/१२८ जीबी भेरियन्टको मूल्य २७,९९९ रुपैयाँ र ६ जीबी/१२८ जीबी भेरियन्टको मूल्य ३३,९९९ रुपैयाँ तोकिएको छ।
त्यसैगरी, ब्ल्याक, डिप ब्लु र भिभिड ओरेन्ज रङमा पाइने रेडमी १७ फाइभजीको ४ जीबी/१२८ जीबी भेरियन्ट ३३,९९९ रुपैयाँ, ४ जीबी/२५६ जीबी ३७,९९९ रुपैयाँ र ६ जीबी/२५६ जीबी भेरियन्ट ४१,९९९ रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।













