३ भदौ २०८३, बुधबार

बैंकिङ प्रणालीबाट ६ महिनाका लागि ३५ अर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक



काठमाडौं । बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ। केन्द्रीय बैंकले ‘६ महिने निक्षेप संकलन’ उपकरणमार्फत यो रकम उठाउन लागेकाे हाे ।

यस निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। निक्षेप संकलनको बोलकबोल एकल ब्याजदर वा बहुब्याजदरमा गर्नुपर्नेछ भने ब्याजदर बोलकबोलकै आधारमा निर्धारण हुनेछ।

केन्द्रीय बैंकका अनुसार बोलकबोल गर्दा घटीमा १० करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले निःशेष भाग जाने गरी कुल ३५ अर्बसम्म आवेदन दिन सकिनेछ।

यस निक्षेप संकलनको साँवा तथा ब्याज भुक्तानी मिति आउँदो फागुन ३ गते तय गरिएको छ। आह्वान गरिएको रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने आवेदकलाई पहिलो प्राथमिकतामा राखिनेछ।