३ भदौ २०८३, बुधबार

भारतको फुटवेयर एक्स्पोमा नेपाली ब्रान्ड ‘जेम्स’ सहभागी हुँदै



काठमाडौं । भारतको नयाँ दिल्लीस्थित प्रगति मैदानमा अगस्ट २१ देखि २३ सम्म आयोजना हुने ‘फुटवेयर इन्डिया एक्स्पो–२०२६’मा नेपाली जुत्ता ब्रान्ड ‘जेम्स’ले सहभागिता जनाउने भएको छ।

जेम्सको उत्पादक कम्पनी नेपाल जुत्ता फ्याक्ट्री प्रालिले एक्स्पोमा आफ्नै स्टल राखेर सहभागिता जनाउन लागेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत विकास अर्यालले लामो समयपछि अन्तर्राष्ट्रिय फुटवेयर प्रदर्शनीमा नेपाली कम्पनीको सहभागिता हुन लागेको बताए।

नेपाल जुत्ता फ्याक्ट्रीले विगत २५ वर्षदेखि विभिन्न प्रकारका जुत्ता तथा चप्पल उत्पादन गर्दै आएको छ। कम्पनीले जुत्ता उत्पादनका लागि आवश्यक कम्पाउन्डसमेत तयार गरी अन्य उद्योग तथा व्यवसायलाई बिक्री गर्दै आएको जनाएको छ।

अर्यालका अनुसार एक्स्पोमा भारतका करिब ४ सय जुत्ता उद्योग तथा व्यवसाय सहभागी हुनेछन्। यस्तो अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाली कम्पनीको सहभागिताले नेपाली जुत्ताको गुणस्तर र उत्पादन क्षमतालाई भारतीय बजारमा चिनाउन तथा नयाँ बजार खोज्न सहयोग पुग्ने उनको भनाइ छ।

कम्पनीले एक्स्पोमार्फत ‘जेम्स’ ब्रान्डलाई अन्तर्राष्ट्रिय बजारमा थप परिचित गराउँदै नेपाली फुटवेयरको बजार विस्तारका लागि व्यावसायिक अवसर सिर्जना हुने अपेक्षा गरेको छ।