सेयर कारोबारी दीपेन्द्र अग्रवालसहित परिवार र साझेदारको बैंक खाता रोक्का
काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवालसहित उनका परिवारका सदस्य र कारोबारमा जोडिएका केही साझेदारको बैंक खाता रोक्का भएको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सेयर बजारमा कृत्रिम रूपमा मूल्य बढाएको, झुटो कारोबार गरेको तथा मूल्य प्रभावित पारेको आरोपमा अग्रवालमाथि अनुसन्धान गरिरहेको छ। सोही अनुसन्धानका क्रममा अग्रवालसँगै उनका परिवारका सदस्य र कारोबारमा संलग्न केही साझेदारको बैंक खाता रोक्का गरिएको हो।
अग्रवालले सस्तो मूल्यमा सेयर खरिद गरी विभिन्न माध्यमबाट प्रचारप्रसार गरेर मूल्य बढाउने र बढेको मूल्यमा सेयर बिक्री गर्ने गरेको आरोप लाग्दै आएको छ। सीआईबीले यही प्रकृतिका कारोबारमार्फत ठगी तथा झुटो सेयर कारोबार भएको हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाएको हो।
यसअघि नेपाल धितोपत्र बोर्डले अग्रवालको सेयर कारोबारमाथि अनुसन्धान गरेको थियो। बोर्डको अनुसन्धानपछि आवश्यक कारबाहीका लागि प्रक्रिया अघि बढाइएको थियो। त्यसकै आधारमा सीआईबीले गत पुसमा अग्रवाललाई पक्राउ गरेको थियो।
पक्राउपछि उनी १० दिन हिरासतमा बसेका थिए। त्यसपछि हाजिरी जमानीमा रिहा भएका अग्रवालमाथि सीआईबीले अनुसन्धानलाई निरन्तरता दिएको छ।
हाल रोक्का गरिएका बैंक खाताबाट भएका आर्थिक कारोबार, रकमको स्रोत तथा अग्रवालको सेयर कारोबारसँगको सम्बन्धबारे समेत ब्यूरोले अनुसन्धान गरिरहेको छ। परिवारका सदस्य र साझेदारहरूको कारोबार पनि अनुसन्धानको दायरामा राखेर सीआईबीले आवश्यक प्रमाण तथा विवरण संकलन गरिरहेको जनाएको छ।













