दुई दशकको ‘सेन्ट्रल बैंकिङ’ अनुभव बोकेका रावल बने केन्द्रीय बैंकका नयाँ डेपुटी गभर्नर
काठमाडौँ । धेरैको अनुमान अनुसार नै सरकारले नेपाल राष्ट्र बैंकको दोस्रो डेपुटी गभर्नरमा दीर्घबहादुर रावललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्री परिषदको बैठकले उनलाई नयाँ डेपुटी गभर्नर नियुक्त गरेको हो । यससँगै केन्द्रीय बैंकको सञ्चालक समितिले पनि तत्कालका लागि पूर्णता पाएको छ ।
लामो समयदेखि बैंकिङ क्षेत्रमा सक्रिय रहँदै आएका रावललाई सरकारले यो महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको हो।
मूलतः अछाम जिल्ला निवासी रावलले विसं २०६२ माघ महिनामा नेपाल राष्ट्र बैंकको सेवामा प्रवेश गरेका थिए। केन्द्रीय बैंकभित्र विभिन्न विभाग र शाखामा रहेर काम गरिसकेका उनी यसअघि बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागको प्रमुखको रूपमा कार्यरत थिए। राष्ट्र बैंकमा २१ वर्षको यो लामो यात्राका क्रममा उनले वित्तीय क्षेत्रको नियमन, सुपरिवेक्षण र समग्र व्यवस्थापनको पाटोमा गहिरो अनुभव हासिल गरिसकेका छन्।
नेपाल राष्ट्र बैंकको संगठनात्मक संरचनाअनुसार यहाँ दुई जना डेपुटी गभर्नर रहने कानुनी व्यवस्था छ। यसअघि जिम्मेवारी सम्हालेका डेपुटी गभर्नरद्वय नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरेपछि यी दुवै पद खाली भएका थिए। सरकारले यसअघि नै एक पदमा किरण पण्डितलाई नियुक्त गरिसकेको थियो भने अब दोस्रो रिक्त पदमा रावलले जिम्मेवारी सम्हाल्ने भएका छन्।
प्रचलित नेपाल राष्ट्र बैंक ऐनअनुसार डेपुटी गभर्नर पदका लागि गभर्नरको सिफारिस आवश्यक पर्छ र सोही आधारमा मन्त्रिपरिषद्ले नियुक्ति गर्ने गर्छ। यस पदको कार्यकाल पाँच वर्षको हुने स्पष्ट कानुनी व्यवस्था रहेको छ। वित्तीय प्रणालीलाई थप मजबुत बनाउनुपर्ने र मौद्रिक स्थायित्व कायम राख्नुपर्ने चुनौतीकाबीच दुई दशकको प्रशासनिक अनुभव बोकेका रावलको यो नियुक्तिलाई बैंकिङ वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।













