४ भदौ २०८३, बिहिबार

विदेशी पर्यटकलाई  क्यूआर भुक्तानी सहज बनाउन मास्टर कार्ड र मोकोबीच सहकार्य



काठमाडौं । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले आफ्नो कार्डमार्फत सहज रूपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी मास्टरकार्डले नेपालमा ‘पे लोकल’ सेवा सुरु गरेको छ। मास्टरकार्डले नेपालको डिजिटल वालेट तथा एकीकृत क्यूआर भुक्तानी प्लेटफर्म ‘मोको’सँगको सहकार्यमा यो सेवा सञ्चालनमा ल्याएको हो।

नयाँ सेवामार्फत विदेशी पर्यटकले आफ्नो मास्टरकार्ड डेबिट वा क्रेडिट कार्डलाई ‘मोको ट्राभल एप’मा आबद्ध गरी नेपालका विभिन्न स्थानमा रहेका नेपालपे र फोनपेका क्यूआर मर्चेन्टमा भुक्तानी गर्न सक्नेछन्। उक्त एप एप्पल एप स्टोर र गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिनेछ।

मास्टरकार्डको ‘पे लोकल’ प्रणालीले पर्यटकलाई आफ्नो डेबिट वा क्रेडिट कार्ड डिजिटल वालेटमा जोडेर स्थानीय भुक्तानी प्रणाली प्रयोग गर्ने सुविधा प्रदान गर्छ। यसबाट पर्यटकले ठूलो मात्रामा नगद बोक्ने, विदेशी मुद्रा सटही गर्ने वा छुट्टै प्रिपेड खातामा रकम राख्ने झन्झटबाट राहत पाउने छन् ।

होटल, रेस्टुरेन्ट, खुद्रा पसल, स्थानीय बजार तथा अन्य पर्यटकीय व्यवसायमा रहेका क्यूआरमार्फत भुक्तानी गर्न सकिने भएकाले विदेशी पर्यटकको भुक्तानी अनुभव थप सहज हुने कम्पनीको अपेक्षा छ। साथै, स्थानीय व्यवसायीले आफ्नै विद्यमान क्यूआर पूर्वाधार प्रयोग गरी अन्तर्राष्ट्रिय ग्राहकबाट समेत भुक्तानी लिन सक्नेछन्।

मास्टरकार्डका श्रीलंका, माल्दिभ्स, बंगलादेश, भुटान र नेपाल हेर्ने कन्ट्री म्यानेजर सन्दुन हापुगोडाले विदेशी पर्यटकले यात्राका क्रममा सुरक्षित, सहज र सुविधाजनक भुक्तानी चाहने बताएका छन्।

साझेदारीका बारेमा बोल्दै उनले भने, ‘अन्तर्राष्ट्रिय पर्यटकहरूले यात्राका क्रममा पनि सहज, सुरक्षित र सुविधाजनक भुक्तानीको अपेक्षा गर्दछन् । मोकोमा उपलब्ध मास्टर कार्ड ‘पे लोकल’ सेवामार्फत पर्यटकहरूले आफूसँग भएकै कार्ड नेपालको वृहत् क्युआर इकोसिस्टममा प्रयोग गर्न सक्नेछन् । यसले पर्यटकलाई भुक्तानीको चिन्ता नगरी यात्राको आनन्द लिन सघाउनेछ भने स्थानीय व्यवसायका लागि नयाँ अवसरहरू सिर्जना गर्नेछ ।’

मास्टरकार्डले एशियाली बजारमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने क्रममा चीन, इन्डोनेसिया, मलेसिया, कम्बोडिया र श्रीलंकालगायतका देशमा ‘पे लोकल’ सेवा सञ्चालनमा ल्याइसकेको जनाएको छ।

फोकसवान पेमेन्ट सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले नेपाल आउने पर्यटकको भुक्तानी अनुभवलाई सहज बनाउन मास्टरकार्डसँग सहकार्य गरिएको बताए। उनका अनुसार ‘मोको ट्राभल एप’मार्फत विदेशी पर्यटकले नेपालको क्यूआर भुक्तानी प्रणालीमा सहज पहुँच पाउनेछन् भने यसबाट स्थानीय मर्चेन्टलाई समेत फाइदा पुग्नेछ।

विश्वका २०० भन्दा बढी देशमा सञ्जाल रहेको मास्टरकार्डले सुरक्षित, सरल र प्रविधिमैत्री डिजिटल भुक्तानी प्रणाली विस्तार गर्दै आएको जनाएको छ।