व्यापार सहजीकरणका लागि नेपालसहित चार देशबीच भन्सार सूचना आदान-प्रदानको सहमति
व्यापारिक लागत घटाउन र सीमा नाकामा हुने प्रक्रियालाई सहज बनाउन नेपालसहित चार दक्षिण एसियाली मुलुकबीच भन्सार सूचना आदान-प्रदानसम्बन्धी ऐतिहासिक समझदारी भएको छ।
काठमाडाैँ । दक्षिण एसियाली क्षेत्रमा वैदेशिक व्यापारलाई थप सहज, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले नेपालसहित चार देशबीच एक महत्वपूर्ण समझदारी बनेको छ।
माल्दिभ्समा सम्पन्न दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (एसएएसईसी) को १४ औं सबग्रुप बैठकका क्रममा सदस्य राष्ट्रहरूबीच भन्सार मालवस्तुको पूर्व-आगमन सूचना आदान-प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो। यसले क्षेत्रीय व्यापारमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
नयाँ समझदारीअनुसार अब नेपाल, भुटान, बंगलादेश र माल्दिभ्सका भन्सार प्रशासनले एक-अर्काको देशबाट पैठारी हुने मालवस्तु सिमानामा आइपुग्नु अगावै त्यसको विवरण डिजिटल माध्यमबाट पाप्त गर्नेछन्। यसरी पूर्व सूचना प्राप्त हुँदा भन्सार अधिकारीहरूले वस्तुको पूर्व-विश्लेषण गर्न र सम्भावित जोखिमको पहिले नै आकलन गर्न सक्नेछन्।
यसले भन्सार नियन्त्रणलाई प्रभावकारी बनाउनुका साथै शंकास्पद वस्तुहरूको निगरानी गर्नसमेत बल पुग्नेछ।
भन्सार विभागका अनुसार यो व्यवस्था कार्यान्वयनमा आएपछि व्यापारीहरूले भोग्दै आएका अनावश्यक ढिलासुस्ती र प्रक्रियागत झन्झट धेरै हदसम्म कम हुनेछन्। मालवस्तु भन्सार बिन्दुमा प्रवेश गर्नुअघि नै कागजी प्रक्रिया र जोखिम मूल्याङ्कनको काम अगाडि बढ्ने हुनाले जाँचपासको समय तीव्र बन्नेछ।
यसबाट समग्रमा व्यापारिक लागत घट्ने र क्षेत्रीय व्यापार पारदर्शी तथा अनुमानयोग्य बन्ने अपेक्षा गरिएको छ। नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक यमलाल भुसालले यस सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
अन्तर्राष्ट्रिय व्यापारमा प्रमुख साझेदार राष्ट्रहरूबीच वस्तु आगमनपूर्व तथ्यांक साटासाट गर्ने प्रचलन बढ्दो छ। यसअघि नेपाल र भारतबीच पनि यस्तै किसिमको समझदारी भइसकेको छ। गत माघ पहिलो साता नयाँदिल्लीमा नेपाली भन्सार प्रशासन र भारतीय केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्डबीच भएको सोही प्रकारको समझदारीले दुई देशबीचको व्यापारिक सम्बन्धलाई बलियो बनाइसकेको छ।
अहिले माल्दिभ्सको बैठकमा भएको यो बहुपक्षीय सहमतिले दक्षिण एसियाली क्षेत्रलाई नै एकीकृत व्यापारिक सञ्जालमा जोड्न थप सहयोग पुग्ने देखिएको छ।













