आईपीओको दौडमा चेरीको रोबोटिक्स युनिट, अब ‘राेबाेट प्रहरी’ विश्वभर फैलाउने योजना !
चीनको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता कम्पनी चेरी अटोमोबाइल आफ्नो रोबोटिक्स शाखा ‘एआईमोग’लाई सेयर बजारमा लैजाने तयारीमा जुटेको छ भने प्रहरी सेवामा खटिने रोबोटमार्फत विश्व बजार विस्तारको लक्ष्य राखेको छ।
काठमाडाैँ । चीनको सबैभन्दा ठूलो सवारी साधन निर्यातकर्ता कम्पनी ‘चेरी अटोमोबाइल’ले आफ्नो रोबोटिक्स शाखालाई सेयर बजारमा लैजाने (आईपीओ) तयारी थालेको छ। बढ्दो प्रतिस्पर्धा र मानवोचित रोबोट (ह्युमनोइड रोबोट) क्षेत्रको तीव्र विकासका बीच भविष्यको लगानी र व्यावसायिक वृद्धिका लागि कम्पनीले यो कदम चालेको हो।
बेइजिङमा आयोजित ‘विश्व रोबोट सम्मेलन’का क्रममा चेरी इन्टरनेशनलका अध्यक्ष तथा रोबोटिक्स शाखाका प्रमुख झाङ गुइबिङले कम्पनीले आईपीओका लागि उपयुक्त स्थान र समयको खोजी गरिरहेको जानकारी दिए।
उनका अनुसार सेयर बजारमा सूचीकृत हुँदा कम्पनीलाई भविष्यको प्राविधिक विकासमा ठूलो लगानी जुटाउन र व्यावसायिक पारदर्शिता तथा सुशासन प्रणालीलाई अझ बलियो बनाउन सहयोग पुग्नेछ।
यद्यपि, आईपीओ कहिले र कुन देशको बजारमा ल्याइने भन्ने विषयमा उनले विस्तृत विवरण खुलाएनन्। चेरीले यसअघि पनि आफ्ना सहायक कम्पनीहरूलाई सेयर बजारमा लैजाने गरेको छ। सन् २०१८ मा अटो पार्ट्स निर्माता ‘बेथेल अटोमोटिभ’ र सन् २०२० मा रोबोटिक्स तथा अटोमेसन कम्पनी ‘इफोर्ट’ शाङ्घाईको सेयर बजारमा सूचीकृत भइसकेका छन्।
प्रहरी सेवामा रोबोट !
चीनको रोबोटिक्स उद्योगमा अहिले लगानीकर्ताहरूको उत्साह निकै बढेको छ। यही माहोलका बीच, चेरीको रोबोटिक्स इकाई ‘एआईमोग’ले आफ्नो कार्यक्षेत्रलाई केवल कारखाना वा सेवा क्षेत्रमा मात्र सीमित नराखी सार्वजनिक सुरक्षा र ट्राफिक व्यवस्थापनसम्म विस्तार गरेको छ।
कम्पनीले हालै मानवोचित प्रहरी रोबोटहरू सार्वजनिक गरेको छ, जसमध्ये १ सय १० वटा रोबोटहरू चीनका विभिन्न सहरमा ट्राफिक व्यवस्थापन, भीड नियन्त्रण र सार्वजनिक सुरक्षासम्बन्धी सचेतना अभियानमा प्रयोग भइरहेका छन्।
प्रमुख झाङका अनुसार, ट्राफिक प्रहरीहरूले विषम परिस्थितिमा काम गर्नुपर्ने बाध्यतालाई ध्यानमा राखेर यो प्रविधि तयार पारिएको हो। विशेषगरी चर्को गर्मी, वायु प्रदूषण र दुर्घटनाको उच्च जोखिम रहने स्थानमा यी रोबोटहरूले जनशक्ति अभाव पूर्ति गर्न मद्दत गर्ने उनको दाबी छ।
एआईमोगले सन् २०२५ को जनवरीमा स्थापना भएदेखि अहिलेसम्म विश्वभर ३ हजारभन्दा बढी रोबोट बिक्री गरिसकेको छ, जसमध्ये २ हजार रोबोट चीनबाहिरका ६० भन्दा बढी देश र क्षेत्रमा पुगिसकेका छन्।
विश्वका प्रमुख ह्युमनोइड रोबोट बिक्रेताहरूः
सन् २०२६ काे पहिलाे ६ महिनामा ह्युमनोइड रोबोटको ढुवानी करिब चार गुणाले बढेर १९,१०० युनिट पुगेको छ।

विश्वव्यापी विस्तार
कम्पनीले आगामी वर्ष विश्वभर १० हजार रोबोट आपूर्ति गर्ने र अन्ततः आफूलाई विश्वका प्रमुख रोबोटिक्स कम्पनीहरूको पंक्तिमा उभ्याउने लक्ष्य राखेको छ। विशेषगरी मध्यपूर्व र दक्षिण-पूर्व एसियाजस्ता क्षेत्रमा उच्च तापक्रम र भारी वर्षाका कारण प्रहरी कर्मचारीलाई काम गर्न कठिन हुने भएकाले त्यहाँ यी रोबोटको माग अधिक हुन सक्ने झाङ बताउँछन्।
चेरीको रोबोटिक्स उद्योगलाई हेर्ने दृष्टिकोण चीनको विद्युतीय सवारी (ईभी) क्षेत्रको सुरुवाती दिनजस्तै छ, जहाँ छोटो समयमै धेरै कम्पनीहरू उदाएका छन् र प्रतिस्पर्धा निकै तीव्र छ।
झाङले समयक्रममा यो उद्योगमा थप एकीकरण हुने र प्रविधि बलियो बन्दै जाने अपेक्षा व्यक्त गरे।
यद्यपि, विशेषगरी मूल्य निर्धारणको प्रतिस्पर्धा निकै कडा हुन सक्ने उनको भनाइ छ। अमेरिका प्रवेशको सम्भावनाबारे सोधिएको प्रश्नमा उनले कम्पनीको लक्ष्य विश्व बजारमा सेवा दिने भए पनि त्यसका लागि सम्बन्धित देशको नियम र ग्राहकको आवश्यकता अनुसार आफूलाई परिमार्जन गर्नुपर्ने बताए।
मानवोचित रोबोट पूर्ण रूपमा विकसित भएर व्यापक रूपमा प्रयोग हुन अझै करिब एक दशक लाग्न सक्ने उनको आँकलन छ।













