५ भदौ २०८३, शुक्रबार

पब्जी मोबाइल नेशनल च्याम्पियनसिप नेपाल २०२६ को आधिकारिक इन्टरनेट पार्टनरमा भायनेट



काठमाडौं। भायनेट कम्युनिकेशनले ‘पब्जी मोबाइल नेशनल च्याम्पियनसिप नेपाल २०२६’ सँग साझेदारी गर्दै प्रतियोगिताको आधिकारिक इन्टरनेट पार्टनर बनेको छ ।

यस साझेदारीमार्फत भायनेटले नेपालको बढ्दो ई-स्पोर्ट्स तथा गेमिङ समुदायसँग आफ्नो सम्बन्ध थप बलियो बनाउने भएको छ ।

पब्जी मोबाइल नेशनल च्याम्पियनसिप नेपाल २०२६ को राष्ट्रिय फाइनल प्रतियोगिता भदौ ६ र ७ गते काठमाडौंस्थित दशरथ रंगशाला कभर्ड हलमा आयोजना हुँदैछ ।

प्रतियोगितामा नेपालका उत्कृष्ट पब्जी माेबाइल टोलीहरूले राष्ट्रिय उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

पछिल्लो समय नेपालमा गेमिङ मनोरञ्जनमा मात्र सीमित नभई प्रतिस्पर्धा, समुदाय र युवाहरूका लागि करियरको सम्भावनासमेत बन्दै गएको छ । यही परिवर्तनलाई ध्यानमा राख्दै भायनेटले ई- स्पोर्ट्सलाई नेपालको नयाँ पुस्तासँग जोडिने महत्वपूर्ण माध्यमका रूपमा लिएको छ ।

“गेमिङ अहिले केवल मनोरञ्जनमा सीमित छैन । धेरै युवाका लागि यो रुचि, प्रतिस्पर्धा, समुदाय र करियरको सम्भावना बनेको छ,” भायनेट कम्युनिकेशनका कमर्सियल तथा मार्केटिङ विभागका सहायक उपाध्यक्ष शहिन श्रेष्ठले भने, “प्रतिस्पर्धात्मक गेमिङमा हरेक क्षण महत्वपूर्ण हुन्छ र यस्तो अवस्थामा इन्टरनेटको गुणस्तरले ठूलो फरक पार्छ । पब्जी मोबाइल नेशनल च्याम्पियनसिप नेपाललाई जोड्न पाउँदा हामी उत्साहित छौं। यसमार्फत गेमर तथा गेमिङ समुदायलाई भायनेट वाईफाइ ६ को अनुभवसँग जोड्न चाहन्छौं ।”

भायनेट वाईफाइ ६ उच्च क्षमताको इन्टरनेट आवश्यक पर्ने गतिविधिका लागि तयार गरिएको प्रविधि हो । यसले ४ गुणासम्म उच्च कार्यक्षमता, राम्रो पहुँच र कम विलम्बता प्रदान गर्ने कम्पनीले जनाएको छ । गेमिङका साथै भिडियो हेर्ने, घरबाटै काम गर्ने तथा एउटै समयमा धेरै उपकरण प्रयोग हुने अवस्थामा पनि वाईफाइ ६ ले सहज इन्टरनेट अनुभव दिन सहयोग गर्ने भायनेटको भनाइ छ ।

नेपालमा ई–स्पोर्ट्सप्रति युवाहरूको आकर्षण बढ्दै जाँदा Vianet ले खेलाडी, गेमर र सम्पूर्ण गेमिङ समुदायलाई राम्रो इन्टरनेट अनुभव प्रदान गर्ने उद्देश्यले यस क्षेत्रमा आफ्नो सहभागिता बढाउँदै लगेको छ ।

पब्जी मोबाइल नेशनल च्याम्पियनसिप नेपाल २०२६ मा भायनेटले प्रतियोगिताको इन्टरनेट साझेदारका रूपमा खेलाडीहरूको प्रतिस्पर्धालाई आवश्यक कनेक्सन उपलब्ध गराउनेछ । यस साझेदारीमार्फत भायनेटले नेपालको ई स्पोर्ट्स क्षेत्रमा आफ्नो उपस्थितिलाई थप बलियो बनाउँदै गेमिङ समुदायसँगको सम्बन्धलाई नयाँ स्तरमा लैजाने अपेक्षा गरेको छ ।