स्वरोजगार लघुवित्तद्धारा विन नेपाल प्राप्ति, भदौ २१ देखि एकीकृत कारोबार सुरु गर्ने
काठमाडौँ। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गर्ने भएको छ।
‘घ’ वर्गको इजाजतपत्रप्राप्त स्वरोजगार लघुवित्तले प्राप्तिसम्बन्धी आवश्यक कानुनी प्रक्रिया पूरा गरेको जनाएको छ। कम्पनी रजिष्ट्रारको कार्यालयमा आवश्यक प्रक्रिया सम्पन्न गर्नुका साथै नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति लिएपछि प्राप्ति प्रक्रिया अघि बढाइएको हो।
प्राप्ति सम्पन्न भएपछि विन नेपाल लघुवित्तको सम्पूर्ण सम्पत्ति, दायित्व तथा सम्भावित दायित्वको जिम्मेवारी स्वरोजगार लघुवित्तले लिनेछ। दुवै संस्थाको कारोबार एकीकृत प्रणालीमार्फत सञ्चालन हुनेछ।
संस्थाका अनुसार एकीकृत कारोबार भदौ २१ गते आइतबारदेखि सुरु गर्ने तयारी छ। एकीकृत कारोबार सुरु हुने दिन दुवै संस्थाका बैंकिङ सेवा एक दिनका लागि बन्द रहनेछन्। यसबारे सेवाग्राही, सेयरधनी, नियामक निकाय तथा अन्य सम्बन्धित पक्षलाई जानकारी गराइएको संस्थाले जनाएको छ।
प्राप्तिपछि संस्थाको नाम भने ‘स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड’ नै कायम रहनेछ। संस्थाको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ मा रहनेछ।















