चीनमा अटो इतिहासकै ठूलो धक्का: टेस्लासहित ९ कम्पनीका ४३ लाख विद्युतीय गाडी बजारबाट फिर्ता डाकिए
काठमाडाैं । विद्युतीय सवारी साधनको विश्वकै ठूलो बजार चीनमा अटोमोबाइल इतिहासकै सबैभन्दा ठूलो फिर्ता अभियान (रिकल) सुरु भएको छ।
आपत्कालीन अवस्थामा गाडीका ढोकाहरू खोल्न कठिन हुने र यात्रुहरू भित्रै थुनिन सक्ने गम्भीर सुरक्षा जोखिमलाई ध्यानमा राख्दै टेस्लासहित नौ वटा प्रमुख अटो निर्माता कम्पनीहरूले करिब ४३ लाख गाडीहरू फिर्ता बोलाउने घोषणा गरेका हुन्।
चीनको बजार नियमन सम्बन्धी राज्य प्रशासनका अनुसार यो समस्या खास गरी आधुनिक विद्युतीय गाडीहरूमा लोकप्रिय बनेका भित्री भागमा लुक्ने ढोकाका ह्याण्डलहरूसँग सम्बन्धित छ।
गम्भीर दुर्घटना भई गाडीको विद्युतीय प्रणाली ठप्प हुँदा वा आगलागी हुँदा आपत्कालीन मेकानिकल ह्याण्डल कता छ भनेर नदेखिने र प्रयोग गर्न नसकिने पाइएको छ।
गत अक्टोबरमा साओमीको एसयु सेभेन सेडान कार दुर्घटना भई आगो लाग्दा बाहिरका मानिसले ढोका खोल्न नसकेर चालकको ज्यान गएको घटनापछि यो विषयमा तीव्र जनआक्रोश र कडा नियमन सुरु भएको थियो।
यस फिर्ता अभियानमा अमेरिकी अटो निर्माता टेस्लाको संख्या सबैभन्दा धेरै छ। टेस्लेले आफ्ना २९ लाख ७५ हजारभन्दा बढी मोडल थ्री, मोडल वाई, मोडल एस र मोडल एक्स कारहरू फिर्ता बोलाउने निर्णय गरेको छ।
यसका साथै साओमीले ३ लाख ९० हजार, लिपमोटरले ३ लाख ७१ हजार, एक्सपेङले २ लाख ६४ हजार र जिलीले ९२ हजारभन्दा बढी गाडीहरू रिकल गरेका छन्, जुन यी कम्पनीहरूका लागि इतिहासकै सबैभन्दा ठूलो रिकल हो।
यस समस्याको समाधानका लागि कम्पनीहरूले गाडीमा आपत्कालीन ह्याण्डल कहाँ छ भनेर स्पष्ट देखाउने चेतावनी लेबलहरू नि:शुल्क टाँस्नेछन्। त्यसैगरी, अधिकांश कम्पनीहरूले इन्टरनेटमार्फत टाढैबाट गाडीको सफ्टवेयर अपडेट पठाउनेछन्, जसले दुर्घटना हुनासाथ गाडीका झ्यालहरू स्वतः तल झर्नेछन् ताकि यात्रुको उद्धार गर्न वा उनीहरू बाहिर निस्कन सजिलो होस्।
निर्माताहरू बीच तीव्र मूल्य युद्ध चलिरहेका बेला चीनले विद्युतीय सवारी साधनको सुरक्षा नियमनलाई निकै कडा बनाएको छ। चीनले सन् २०२७ देखि पूर्ण रूपमा लुक्ने ढोकाका ह्याण्डलहरूलाई पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ।
टेस्लाले सुरु गरेर चिनियाँ कम्पनीहरूले व्यापक अपनाएको यो डिजाइनलाई प्रतिबन्ध लगाउने चीन विश्वकै पहिलो देश बनेको छ। अब नयाँ आउने सबै गाडीहरूमा अनिवार्य रूपमा स्पष्ट देखिने मेकानिकल ढोका खोल्ने संयन्त्र हुनैपर्नेछ।
यस निर्णयबारे जिली र एक्सपेङले कुनै प्रतिक्रिया दिन अस्वीकार गरेका छन् भने साओमीले नियमनकारी निकायको सूचना बाहेक थप जानकारी नरहेको जनाएको छ। उता लिपमोटरले प्रयोगकर्ताप्रतिको जिम्मेवारी बोध गर्दै यो सुरक्षा कदम चालिएको र यो मुख्यतया चेतावनी लेबल र सफ्टवेयर अपडेटसँग मात्र सम्बन्धित रहेको बताएको छ।
अटोमोबाइल विश्लेषकहरूका अनुसार सफ्टवेयर अपडेट र लेबलिङको काम मात्रै हुने भएकाले यसले कम्पनीहरूलाई विगतका ठूला रिकलहरू जस्तो ठूलो आर्थिक भार भने पार्ने छैन।
उता संयुक्त राज्य अमेरिकाको राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासनले पनि विद्युतीय प्रणाली बन्द हुँदा गाडीभित्र यात्रु थुनिने जोखिमबारे नयाँ मापदण्डबारे विचार गरिरहेको जनाउकाे छ। यद्यपि अमेरिकी बजारका लागि भने अझै यस्तो रिकल घोषणा गरिएको छैन।
















