७ भदौ २०८३, आइतबार

रवि लामिछानेको चीन भ्रमण स्थगित, अर्थमन्त्री वाग्ले भारत जाने तयारीमा



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ।

उच्च स्रोतका अनुसार अगस्टको दोस्रो साताका लागि तय गरिएको भनिएको भ्रमण यसअघि नै करिब एक महिना पछाडि सारिएको थियो। तर सेप्टेम्बरको दोस्रो सातामा पनि लामिछाने चीन नजाने भएका हुन्।

अब चीन भ्रमणमा सांसदहरूको टोली मात्रै सहभागी हुने तयारी रहेको स्रोतले जनाएको छ। लामिछानेको भारत भ्रमणपछि चीन जाने कार्यक्रम बनाइएको भए पनि उनको व्यक्तिगत भ्रमण भने तत्काल नहुने भएको हो।

सरकारी स्रोतका अनुसार लामिछानेले पछि उपयुक्त समयमा चीन भ्रमण गर्ने सम्भावना छ। यद्यपि, नयाँ भ्रमण मिति अहिलेसम्म निश्चित भइसकेको छैन।

अर्थमन्त्री स्वर्णिम वाग्ले भारत भ्रमणमा जाने

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्ले चालु महिनामै भारत भ्रमणमा जाने तयारीमा रहेको बताइएको छ। यद्यपि, उनको भ्रमणको मिति सरकारले अहिलेसम्म औपचारिक रूपमा सार्वजनिक गरेको छैन।

भारत भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय सरकारका उच्च अधिकारी तथा अन्य महत्वपूर्ण व्यक्तित्वहरूसँग भेटवार्ता गर्ने सम्भावना रहेको छ। भेटवार्तामा नेपाल–भारत आर्थिक सम्बन्ध, द्विपक्षीय सहकार्य तथा दुवै देशको साझा हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

भ्रमणको मिति, भेटवार्तामा सहभागी हुने भारतीय अधिकारी तथा छलफलका एजेन्डाबारे भने हालसम्म विस्तृत जानकारी सार्वजनिक भएको छैन।

अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेपछि वाग्ले पहिलोपटक भारत भ्रमणमा जान लागेका हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिको जिम्मेवारीमा समेत छन्।