‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था
काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’को सम्पुर्ण तयारी पुरा भएको छ । मोवाइल एसोसिएसन अफ नेपाल (नाडा)ले सोमबार पत्रकार सम्मेलन गरी सम्पुर्ण तयारी पुरा भएको बताएको हो।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार सोमबारसम्ममा २ सय १५ भन्दा बढी स्टलहरु बनीसकेका छन् । सोमबार पत्रकारहरुलाई प्रदर्शनीस्थलको भ्रमण गराउदै अध्यक्ष उप्रेतिले गत बर्षहरुको भन्दा यसपाली स्टल फराकिलो र व्यवस्थित रहेको दावी गरे । प्रदर्शनीस्थल ह्विलचेयरमैत्री छ भने बत्ती, एसी र पंखाहरुको पर्याप्त व्यवस्था गरिएको छ।
त्यस्तै प्रदर्शनीस्थललाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पाट्र्स र ग्यारेज उपकरण साथै ‘मेड इन नेपाल / मेड फर नेपाल’ प्याभिलियन र इन्टरनेसनल बिजनेस प्याभिलियन गरी पाँच क्षेत्रमा विभाजन गरिएको छ ।
त्यस्तै अवलोकन गर्न चाहने अवलोकनकर्ताले पहिले सवारीसाधन, त्यसपछि वित्त, बीमा, सर्भिस र पाट्र्ससम्बन्धी गरी तीन भागमा विभाजन गरी अवलोकत गर्न सक्नेछन् । जसले .गाडी किन्नेहरुले खर्च र सुविधाबारे राम्रोसँग जानकारी प्राप्त गर्नेछन् । नाडाका अनुसार प्रदर्शनीस्थलमा ५३ सवारी ब्राण्ड, ७० पाट्र्स तथा सेवा कम्पनी र करिब ११ वटा बैंक तथा वित्तिय संस्थाहरुले भाग लिएका छन् ।
अग्रिम टिकट बुकिङ खुल्ला
‘नाडा अटो शो’ अबलोकनकर्ताहरुको सुविधालाई मध्यनजर राख्दै नाडाले अग्रिम टिकट बुकिङको पनि व्यवस्था गरेको छ । अग्रिम टिकको लागि खल्तीको एप वा आधिकारिक क्यूआर कोड मार्फत टिकट काट्न सकिने व्यवस्था गरेको छ । त्यस्तै सर्वसाधारणहरुको लागि प्रवेश शुल्क २०० र विद्यार्थीका लागि १५० रुपैयाँ रहेको नाडाले जनाएको छ ।
भोलि विहान साढे १० बजेदेखि सुरु हुने सो कार्यक्रमको उद्घाटन उपराष्ट्रपति रामसाय प्रसाद यादवले गर्नेछन् । पत्रकार सम्मेलनमा अध्यक्ष उप्रेतीले अवलोकनकर्ताको लागि दुई स्थान नेपाल प्रहरी क्लबको ब्लु प्याभिलियनको भूमिगत पार्किङ र सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसरमा सवारीसाधनको पार्किङको व्यवस्था गरिएको जानकारी दिए ।
त्यस्तै प्रदर्शनीस्थलमा ट्राफिक व्यवस्थापन सूचना डेस्क, मिडिया डेस्क, क्याफेटेरिया र आकस्मिक स्वास्थ्य सेवा पनि उपलव्ध रहेको छ । त्यसैगरी सीसीटीभी निगरानी र अग्नि नियन्त्रण प्रणालीको व्यवस्था गरेको नाडाले जनाएको छ।














