९ भदौ २०८३, मंगलबार

१२ लाखलाई रोजगारी दिने सरकारको नारा सार्थक बनाउन अटो बजार विस्तार गर्नुपर्छ : श्रेष्ठ



काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै उद्योगी–व्यवसायीको कमजोर मनोबल सुधार गर्न सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्नुपर्ने बताएका छन्।

मंगलबार नाडा अटो शोको उद्घाटनको अवसरमा बोल्दै श्रेष्ठले सरकारले उद्योग सञ्चालन र निजी क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

उनले उद्योगी–व्यवसायीको मनोबल कमजोर हुँदा अर्थतन्त्रमा समेत त्यसको प्रभाव परेको उल्लेख गरेका छन्। श्रेष्ठले सरकारले अघि सारेको १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्यलाई सार्थक बनाउन अटो बजारको विस्तार आवश्यक रहेको बताएका छन्।

उनले भने, ‘१०० बिलियनको अर्थतन्त्र र १२ लाखलाई रोजगारी दिने सरकारको नारालाई सार्थक बनाउन अटो बजारलाई विस्तार गर्नुपर्छ।’

श्रेष्ठका अनुसार अटो क्षेत्रको विस्तारले रोजगारी सिर्जना गर्नुका साथै अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ। उनले नेपालमा वार्षिक करिब २० अर्ब रुपैयाँ बराबरका अटो पार्ट्स आयात हुने उल्लेख गर्दै स्वदेशमै उद्योग तथा उत्पादन विस्तार गर्ने विषयमा सरकारले सोच्नुपर्ने बताए।

उनले उद्योगी–व्यवसायीलाई विश्वासमा लिएर सरकारले नीतिगत रूपमा सहजीकरण गर्नुपर्नेमा समेत जोड दिएका छन्।