१० भदौ २०८३, बुधबार

भोटेकोशीमा बाढीको वितण्डा, सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन



काठमाडौं । तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ । आज बिहान करिब सवा ९ बजेतिर आएको बाढी रसुवाबाट नुवाकोट हुँदै धादिङ, गोरखा र चितवनतर्फ बढेको बताइएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढी तिब्बततर्फबाट आएको प्रारम्भिक जानकारी प्राप्त भएको हो। बाढीबाट ठूलो क्षति भएको अनुमान गरिए पनि क्षतिको विस्तृत विवरण आइसकेको छैन।

बाढीका कारण रसुवा जिल्लामा नेपाल प्रहरीका कम्तीमा तीन वटा कार्यालयमा क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याप्रुबेसी र प्रहरी चौकी रसुवागढीमा ठूलो क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

ती कार्यालयमा कार्यरत प्रहरी कर्मचारीको अवस्था र भएको क्षतिको विस्तृत विवरण भने अझै आउन बाँकी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

रसुवा–नुवाकोट सीमाको बजार बगायो

बाढीले रसुवा र नुवाकोटको सीमामा रहेको एक बजारसमेत बगाएको प्रारम्भिक जानकारी आएको छ। बाढीको प्रभाव अन्य क्षेत्रमा समेत परेको हुनसक्ने भएकाले प्रशासनले विवरण संकलन गरिरहेको छ।

हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन

भोटेकोशीमा आएको बाढीपछि प्रधानमन्त्री कार्यालयले सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

प्रधानमन्त्री बालेन शाहको सचिवालयका अनुसार सम्भावित उद्धार तथा राहतका लागि आवश्यक परे तत्काल परिचालन गर्न सकिने गरी हेलिकप्टर कम्पनीहरूलाई तयारी अवस्थामा रहन भनिएको हो।

पाँच जिल्लाका तटीय क्षेत्रमा सतर्कता

भोटेकोशीको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदीका तटीय क्षेत्रमा जोखिम बढेको छ। सम्बन्धित क्षेत्रका बासिन्दालाई नदी किनारबाट टाढा रहन तथा सम्भावित बाढी र डुबानबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

बाढीबाट मानवीय तथा भौतिक क्षति कति भयो भन्नेबारे थप विवरण आउन बाँकी छ।