१० भदौ २०८३, बुधबार

टिमुरेबस्ती तहसनहस : ३ सय बढी स्थानीय उद्धारको प्रतीक्षामा



काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित टिमुरेमा बाढीपछि ठूलो मानवीय संकट देखिएको छ। स्थानीय वडा सदस्य पेमा दोर्जे घलेका अनुसार बाढीका कारण टिमुरेको बस्ती तथा बजार क्षेत्रमा व्यापक क्षति पुगेपछि ३ सयभन्दा बढी स्थानीय सुरक्षित उद्धारको प्रतीक्षामा छन्।

बाढीले टिमुरेको पुरानो बस्ती र बजार क्षेत्रको अवस्था अत्यन्तै दयनीय बनाएको स्थानीयको भनाइ छ। क्षतिको वास्तविक विवरणसमेत तत्काल यकिन गर्न सकिने अवस्था नरहेको बताइएको छ।

बाढीबाट भएको क्षतिको वास्तविक विवरण अझै संकलन हुन सकेको छैन। केही स्थानीय बिहानै सुरक्षित स्थानको खोजी गर्दै तुलनात्मक रूपमा अग्लो र समथर भूभागमा पुगेका कारण जोगिएका छन्।

अहिले प्रभावित क्षेत्रमा रहेका स्थानीयले तत्काल उद्धार तथा राहतको माग गरेका छन्। उनीहरूलाई हेलिकप्टर वा अन्य सम्भव माध्यमबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय प्रतिनिधिको आग्रह छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण उद्धार तथा राहत कार्य अघि बढेपछि मात्रै स्पष्ट हुने देखिएको छ।