१० भदौ २०८३, बुधबार

भोटेकोशी बाढीपछि सरकारको उद्धार अभियान तीव्र



काठमाडौँ। भोटेकोशी क्षेत्रमा आएको बाढीपछि सरकारले उद्धार, राहत तथा खोजी कार्यलाई तीव्र बनाउँदै राज्यका विभिन्न संयन्त्र परिचालन गरेको छ। अर्थ मन्त्रालयको सचिवालयका अनुसार नेपाली सेनाका दुईवटा उद्धार हेलिकप्टर तथा स्वास्थ्यकर्मीसहितको एमआई–१७ हेलिकप्टर नुवाकोट र रसुवातर्फ पठाइएको छ।

प्रभावित क्षेत्रमा उद्धार तथा स्वास्थ्य सेवाका लागि हवाई माध्यमबाट आवश्यक जनशक्ति परिचालन गरिएको हो। सरकारले धादिङ, नुवाकोट, रसुवा र चितवनका सबै सुरक्षा निकायलाई फिल्डमा परिचालन गरेको जनाएको छ। प्रभावित क्षेत्रमा उद्धार, राहत तथा आवश्यक समन्वयका लागि सुरक्षा संयन्त्रलाई सक्रिय बनाइएको छ।

यसैगरी, उद्धार र समन्वयलाई सहज बनाउन ती चार जिल्लामा नेपाल टेलिकमको फोन तथा डेटा सेवा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ।

प्रधानमन्त्रीको अध्यक्षतामा बिहान ११ बजे बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले उद्धार, राहत र समन्वयका लागि देशका सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको अर्थ मन्त्रालयको सचिवालयले जनाएको छ।

यसैबीच, विपद्को अवस्थाबारे थप निर्णय लिन आकस्मिक मन्त्रिपरिषद् बैठकसमेत जारी छ।

सरकारले राहत, उद्धार तथा खोजी कार्यमा परिचालन हुने निजी हेलिकप्टरका लागि छुट्टै अनुमति आवश्यक नपर्ने व्यवस्था गर्ने निर्णय गरेको छ। यसबाट आवश्यकता अनुसार निजी हेलिकप्टरलाई समेत तत्काल उद्धार तथा राहत कार्यमा प्रयोग गर्न सकिने भएको छ।

उद्धार तथा राहतमा परिचालन हुने हेलिकप्टरका लागि आवश्यक हवाई इन्धनको व्यवस्था गर्न नेपाल आयल निगमले काठमाडौँबाट हवाई इन्धनसहितको ट्यांकर नुवाकोटको त्रिशूलीतर्फ तत्काल पठाएको छ।

सरकारले अहिलेको प्राथमिकता उद्धार, राहत र खोजी कार्यलाई प्रभावकारी रूपमा अघि बढाउने तथा प्रभावित क्षेत्रमा आवश्यक सरकारी संयन्त्रबीच समन्वय कायम गर्ने रहेको जनाएको छ।