गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन
काठमाडौँ। गोरखाको पालुङटारबाट रसुवाको गोसाइकुण्डतर्फ तीर्थयात्री लिएर हिँडेको बस बुधबार बिहानदेखि सम्पर्कविहीन भएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार पालुङटार नगरपालिका–४ र ५ का तीर्थयात्री बोकेर गएको ग २ ख ११५२ नम्बरको बससँग सम्पर्क हुन सकेको छैन। बसमा कुल ३८ जना यात्रु रहेको बताइएको छ।
डीएसपी राजकुमार श्रेष्ठका अनुसार तीमध्ये ३४ जना अझै सम्पर्कविहीन छन्। बसबाट हाम फालेका चार जना भने प्रहरीको सम्पर्कमा आएका छन्। उक्त बससँगै गोसाइकुण्डतर्फ गएका दुईवटा माइक्रोबस भने सम्पर्कमा रहेको प्रहरीले जनाएको छ। ती माइक्रोमा २६ जना यात्रु सवार थिए।
प्रहरीले सम्पर्कविहीन यात्रु र बसको अवस्थाबारे थप जानकारी जुटाउने तथा खोजी कार्य जारि राखेको जनाएको छ।
















