११ भदौ २०८३, बिहिबार

बाढी प्रभावित क्षेत्रमा विद्युत् पुनर्स्थापनाको पहल : उच्चस्तरीय टोली फिल्डमा



काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीबाट क्षति पुगेको अपर त्रिशूली ३ ए जलविद्युत् आयोजनाको अवस्थाबारे जानकारी लिन नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोली स्थलगत निरीक्षणमा पुगेको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको नेतृत्वमा टोली बिहीबार बिहानै प्रभावित क्षेत्रमा पुगेको हो। बाढीबाट क्षतिग्रस्त संरचनाको अवस्था बुझ्नुका साथै उद्धार कार्यलाई समन्वय गर्न र विद्युत् सेवा पुनः सञ्चालन गर्ने उपाय पहिचान गर्न टोली परिचालन गरिएको जनाइएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार टोलीमा उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख एवं प्रवक्ता राजन ढकाल तथा एनईए इन्जिनियरिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरन्तन विक्रम राणासहितका अधिकारी छन्।

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले प्रभावित क्षेत्रका नागरिक तथा कर्मचारीको उद्धारलाई प्राथमिकता दिँदै विद्युत् आपूर्ति सकेसम्म चाँडो सञ्चालनमा ल्याउन आवश्यक सबै उपाय अपनाउन निर्देशन दिएका छन्। भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो क्षति भएपछि प्रभावित क्षेत्रमा वैकल्पिक प्रणालीबाट विद्युत् आपूर्ति पुनःस्थापनाको काम अघि बढाइएको मन्त्रालयले जनाएको छ।

यसक्रममा नेपाल विद्युत् प्राधिकरणले सिन्धुपाल्चोकतर्फबाट जोडिएको वैकल्पिक लाइन प्रयोग गरी नुवाकोटका खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु र पञ्चकन्या क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन गरिसकेको छ। नुवाकोटका बाँकी प्रभावित क्षेत्रमा पनि विद्युत् आपूर्ति सुचारु गर्न स्थलगत अध्ययनका क्रममा ६६ केभीका लाइनलाई ११ केभीमा चार्ज गरेर सञ्चालन गर्न सकिने सम्भावना देखिएको अधिकारीहरूले बताएका छन्।

त्यसका लागि चपली–देवीघाट ६६ केभी तथा बालाजु–त्रिशूली ६६ केभी लाइनलाई ११ केभीमा चार्ज गर्ने तयारीसहित प्राविधिक टोलीले फिल्डमा काम तीव्र बनाएको छ। प्राधिकरणले उपलब्ध सबै वैकल्पिक प्राविधिक विकल्प प्रयोग गरेर बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा छिटोभन्दा छिटो पुनःस्थापित गर्ने प्रयास भइरहेको जनाएको छ।

यसैबीच, प्रभावित क्षेत्रमा रोकिएका कर्मचारीको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरसमेत परिचालन गरिएको छ।