११ भदौ २०८३, बिहिबार

भोटेकोशी बाढी पीडितका लागि ग्लोबल आइएमई बैंकको ५ करोड सहयोग



काठमाडाैँ । भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीले तटीय क्षेत्रमा मच्चाएको ताण्डवबीच प्रभावितहरूको जीवनरक्षा र पुनर्जीवनका लागि वित्तीय क्षेत्रबाट ठूलाे सहयोगको घोषणा भएको छ।

मुलुकका ठूला वाणिज्य बैंकहरूमध्ये एक ग्लोबल आइएमई बैंकले संकटमा परेका नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका निम्ति ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ५ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ।

केही दिनअघि भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका नदी तटीय क्षेत्रहरूमा ठूलो जनधनको क्षति भएको छ। नदीको तीव्र बहाव र कटानले सयौँ नागरिकको अकालमै ज्यान गएको छ भने कैयौँ अझै बेपत्ता छन्।

घरबारविहीन बनेका सयौँ परिवार खुला आकाशमुनि बस्न बाध्य भएका छन्। बाढीले स्थानीय बस्ती, पुल, सडक सञ्जाल र जलविद्युत् आयोजनाहरू बगाउँदा मुलुकले अभूतपूर्व भौतिक क्षति व्यहोरेको छ।

विपद्को यो घडीमा मर्माहत बनेको बैंकले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्वलाई केवल औपचारिकतामा सीमित नराखी राष्ट्रिय संकटको समयमा नागरिकको सारथी बन्नुपर्ने मान्यता राख्दै आएको बैंकले जनाएको छ।

यो ५ करोड रुपैयाँबाट बेपत्ताहरूको खोजी कार्य तीव्रता दिन, घाइतेहरूको उपचार व्यवस्था मिलाउन, प्रभावित क्षेत्रका बासिन्दालाई खाद्यान्न तथा बासस्थानको जोहो गर्न र क्षतिग्रस्त संरचनाहरूको दीर्घकालीन पुनर्निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको छ।

बैंकले विगतका विपद्हरूमा पनि अग्रपंक्तिमा रहेर आर्थिक, भौतिक तथा मानवीय सहायता प्रदान गर्दै आएको छ। भूकम्प, महामारी वा अन्य प्राकृतिक प्रकोपका समयमा समेत समाजप्रतिको आफ्नो दायित्व निर्वाह गर्दै आएको बैंकले यसपटक पनि सोही परम्परालाई निरन्तरता दिएको छ।

आधुनिक प्रविधि र उत्कृष्ट सेवामार्फत बैंकिङ क्षेत्रमा ख्याति कमाउँदै आएको यस बैंकले यसअघि पनि ‘बैंक अफ द इयर’ लगायत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू प्राप्त गरिसकेको छ।

मुलुकका ७७ वटै जिल्लामा आफ्नो शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा स्थापित ग्लोबल आइएमई बैंकले देशैभर सेवाको पहुँच पुर्‍याएको छ। हाल बैंकले तीन सयभन्दा बढी शाखा र एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत आफ्ना ग्राहकलाई सेवा दिइरहेको छ।

मुलुकभित्र मात्र नभई विदेशमा रहेका नेपालीहरूबाट पनि औपचारिक माध्यममार्फत रेमिट्यान्स भित्र्याएर यस बैंकले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। सामाजिक उत्तरदायित्वलाई सधैँ पहिलो प्राथमिकतामा राख्ने यस बैंकको यो ताजा सहयोगले विपद्को मारमा परेका हजारौँ नागरिकलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ।