११ भदौ २०८३, बिहिबार

राहत, उद्धार र पुनःस्थापनामा सरकारलाई सघाउने बैंकर्स संघको प्रतिबद्धता



काठमाडौं । नेपाल बैंकर्स संघले रसुवासहित विभिन्न जिल्लामा आएको बाढी तथा प्राकृतिक विपद्बाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा बैंकिङ सेवा निरन्तरता र राहत तथा पुनःस्थापनामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। संघले विज्ञप्तिमार्फत विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा धैर्यताका साथ अघि बढ्न सबैमा आग्रह गरेको छ।

संघका अनुसार बाढी प्रभावित जिल्लामा कार्यरत अधिकांश बैंक कर्मचारी सुरक्षित रहेको जानकारी प्राप्त भए पनि केही कर्मचारीसँग अझै सम्पर्क स्थापित हुन सकेको छैन। बाढी तथा डुबानका कारण प्रभावित जिल्लाका केही बैंक शाखासमेत प्रभावित भएका छन्।

विद्युत्, इन्टरनेट तथा सञ्चार सेवामा आएको अवरोधका कारण प्रभावित क्षेत्रमा नियमित बैंकिङ सेवा सञ्चालनमा चुनौती देखिएको संघले जनाएको छ। यद्यपि बैंकहरूले उपलब्ध स्रोत, साधन र वैकल्पिक व्यवस्थाको अधिकतम उपयोग गर्दै सेवा निरन्तर राख्न तथा प्रभावित ग्राहकलाई आवश्यक सहयोग उपलब्ध गराउन प्रयास गरिरहेको संघको भनाइ छ।

संघले विपद्को समयमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गर्दै अघि बढिरहेको जनाएको छ। बैंकिङ क्षेत्रले सरकारको राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासमा पूर्ण रूपमा साथ दिने संघले जनाएको छ। प्रभावित कर्मचारी, उनीहरूका परिवार तथा सर्वसाधारणलाई आवश्यक सहयोग पुर्‍याउन बैंकिङ क्षेत्रले आफ्नोतर्फबाट सक्दो योगदान गर्ने प्रतिबद्धता जनाएको छ।

संघले आफ्ना सदस्य बैंकहरूसँग समन्वय गरी प्रभावित क्षेत्रमा राहत, उद्धार, बैंकिङ सेवा निरन्तरता तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग र सहजीकरण गर्ने जनाएको छ। विपद्का कारण शाखा सञ्चालनमा अवरोध आए पनि वैकल्पिक माध्यम र उपलब्ध पूर्वाधार प्रयोग गरी ग्राहकलाई आवश्यक सेवा उपलब्ध गराउने प्रयास भइरहेको संघको भनाइ छ।