बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा तीन दिन थपियो
काठमाडौँ। रसुवास्थित भोटेकोशी नदीमा भीषण बाढी आएपश्चात भएको जनधनको क्षतिको अवस्थामा नेपाल टेलिकमले उपलब्ध गराएको नि:शुल्क भ्वाइस कल, डाटा तथा एसएमएस सुविधा तीन दिन थप गरेको छ।
टेलिकमले उक्त क्षेत्र र आसपासका सेवाग्राहीलाई दुई दिन भ्वाइस कल नि:शुल्क र प्रतिदिन २ जीबी डाटा तथा ५० एसएमएस नि:शुल्क गर्ने निर्णय गरेको थियो। अब भदौ १२, १३ र १४ गतेसम्म सो सुविधा उपलब्ध रहने नेपाल टेलिकमले जनाएको हो।
कम्पनीले भोटेकोशी तथा त्रिशूली नदीको बहाव तीव्र रूपमा बढिरहेको अवस्थामा रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत नदी आसपासका क्षेत्रमा बसोबास गर्ने सबै नागरिकलाई उच्च सतर्कता अपनाउन र तुरुन्त सुरक्षित स्थानमा जान अनुरोध गरेको छ ।
विपद्को परिस्थितिमा प्रभावित नागरिकलाई आफन्त, उद्धार तथा राहतकर्मी र सम्बन्धित निकायसँग सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यले कम्पनीले उक्त सुविधा उपलब्ध गराएको सूचनामा उल्लेख गरिएको छ ।
बाढीका कारण नेपाल टेलिकमका विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ । दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मर्मत सम्भार गर्न प्राविधिक टोली निरन्तर परिचालित भइरहेको पनि कम्पनीले जनाएको छ ।














